मंसिर ६, संविधासभाको दोश्रो निर्वाचन अन्तर्गत खोटाङको मत गणनाको प्रारम्भिक परिणाम भर्खरै सार्वजनिक भएको छ । बिहान पौंने १२ बजेबाट शुरु भएको मत मतगणनाको प्रारम्भिक नजिता अनुसार क्षेत्र नम्बर–१ मा नेकपा एमालेका पाँचकर्ण राईले अग्रता लिएको छ ।
उहाँले ९ सय ९५ मत ल्याउनुभएको छ भने, नेपाली काग्रेसका नरेशकुमार श्रेष्ठले ९ सय ५४ र एकीकृत नेकपा माओवादीका दुर्गाजयन्ती राईले ६ सय २ र संघीय समाजवादी पार्टीका देवराज राईले १ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, क्षेत्र नम्बर–२ मा पनि एमालेकै उम्मेदवार विशाल भटराईले अग्रता कायम गर्नुभएको छ । उहाँले १ हजार ५ सय ३१ मत प्राप्त गर्नुभएको छ भने, एकीकृत नेकपा माओवादीका देवान राई ‘पृथ्वी’ले ६ सय ५० मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेपाली काग्रेसका विष्णुकुमार राईले ६ सय २० तथा संघीय समाजवादी पार्टीका सनबहादुर राईले ५२ मत प्राप्त गर्नुभएको छ ।
भौगोलिक विकटताका कारण मत पेटिका समयमा नआएकाले तोकिएको समयभन्दा ढिलागरी मतगणना शुरु गरिएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद गौतमले बताउनुभयो । दुई निर्वाचन क्षे रहेको खोटाङमा कूल ९९ हजार ६ सय ६२ मतदाता रहेका छन् । क्षेत्र नम्बर–१ मा ५० हजार ६२ र क्षेत्र नम्बर–२ मा ४९ हजार ६ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
चुनावी प्रतिस्पर्धामा रहेका १२ दलमध्ये एकीकृत नेकपा माओवादीका प्रतिनिधि भने, केन्द्रको निर्णय भन्दै मत गणनामा सहभागिता जनाएका छैनन् । एमाओवादीले बहिस्कार गरपनि जिल्लाको दुवै निर्वाचन क्षेत्रको मत गणना जारी छ ।