मंसिर–१०, संविधानसभाको निर्वाचनमा अन्तरघात गरेको भन्दै कांग्रेस खोटाङले आफ्ना २० जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ ।
अन्तरघात गरेर आफ्नै पार्टीका उम्मेदवारलाई चुनावमा पराजित गराएको आरोपमा कांग्रेसले पुर्वमन्त्री एबं महासमिति सदस्यहरु सहित २० जना नेता कार्यकर्तालाई कारबाही गरेको हो ।
कांग्रेस खोटाङको अनुशासन तथा संगठन विभागको सिफारिसमा उनीहरुलाई कांग्रेसको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिएको कांग्रेसले आईतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
पार्टीभित्र अन्तरघात गरेको भन्दै महासमिति सदस्य तथा पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत, पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई, महासमिति सदस्यहरू महेन्द्रकुमार कटवाल, जनककुमार कार्की, सुवाशकुमार पोखरेल, शान्ति राई, जिल्ला कोषाध्यक्ष देवी राई, २ नम्बर क्षेत्रीय सभापति विष्णुराज राई, १ नम्बर क्षेत्रीय सचिव श्यामकुमार राईलाई कारबाही गरिएको कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सभापति राईका अनुसार अन्तरघात गरेको आरोपमा कांग्रेस नेता राजन दाहाल, मुक्ति तिम्सिना, रामप्रसाद आचार्य ९आरपी०, जसराज राई, शरणकुमार राई, देवेन्द्र बस्नेत, पेशल राई, निरेश राई, दिनेश राई, खेमबहादुर खड्का, देवराज बस्नेत पनि कारबाहीमा परेका छन् ।
उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीकालागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिएको सभापति राईले जानकारी दिनुभयो । ‘हाम्रै जिम्मेवार नेताहरु अन्य पार्टीमा लागेर हामीलाई हराए,’ सभापति राईले भनुभयो, ‘यो हाम्रो मात्र नभइ पार्टीको हार भएकाले उनीहरुलाई कारबाही गरेको हो ।’
आफ्नै नेताहरुको अन्तरघात र असहयोगका कारण कांग्रेस क्षेत्र नं १ का उम्मेदवार नरेशकुमार श्रेष्ठ र क्षेत्र नं २ का उम्मेदवार विष्णुकुमार राईले एमालेबाट पराजित हुनुपरेको कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवार श्रेष्ठ एमालेका पाँचकर्ण राईबाट ९ सय ८३ मत र राई एमालेकै विशाल भट्टराईबाट ४ हजार ९ सय १५ मतको अन्तरले पराजित भएका थिए । कांग्रेसले आईतबार विज्ञप्ति निकालेर एमालेका बिजेता उम्मेदवाहरुलाई बधाई एबं सफलताको शुभकामना पनि दिएको छ ।