मंसिर–११, संविधानसभा निर्वाचनमा खोटाङका १७ उम्मेदवारको जमानत जफत भएको छ । कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादी बाहेक अन्य ९ दलका १७ उम्मेदवारहरुको जमानत जफत भएको हो । 
मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका २३ जना उम्मेदवारमध्ये १७ उम्मेदवारहरुको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा क्षेत्र नम्बर–१ बाट संघीय समाजवादी पार्टीका देबराज राई, राप्रपा नेपालका जगदीश राजभण्डारी, नेकपा मालेका बइन्द्र केसी, राप्रपाका धर्मराज पोखरेल, नेपाल कम्यूनिष्ट पार्टीका प्रतिमान राई, खम्बूवान राष्ट्रिय मोर्चाका भूपी राई, खस समावेसी राष्ट्रिय पार्टीका कर्णबहादुर कार्की र शान्ति पार्टी नेपालका भोजराज अधिकारीको जमानत जफत भएको कार्यालयले जनाएको हो ।
आवश्यक मत ल्याउन नसकेपछि उनीहरुको उम्मेदवारी मनोनयन गर्नेक्रममा राखेको ३÷३ हजार धरौती रकम जफत भएको हो । उम्मेदवारी दर्ता गर्नेक्रममा प्रत्येक दलका उम्मेदवारले प्रतिव्यक्ती ३ हजार रुपिया“ धरौटी राख्नुपर्ने प्रावधान छ । 
कुल ३३ हजार ३ सय ८ सदर मत खसेको क्षेत्र नम्बर–१ का उम्मेदवारहरुले आफ्नो जमानत जोगाउनका लागि कम्तिमा ३ हजार ३ सय ३० मन्दा बढि मत ल्याउनु पर्ने हुन्छ । 
यस्तै, ३३ हजार ३ सय २३ सदर मत खसेको क्षेत्र नम्बर–२ बाट संघीय समाजवादी पार्टीका उम्मेदवार सनबहादुर राई, नेकपा मालेका ताराकुमार खड्का, राप्रपाका कृष्णकुमारी राई, राप्रपा नेपालका रमेशकुमार केसी, नेपाल कम्युनिष्ट पार्टीका कुलप्रसाद फुयाँल, खम्बुवान राष्ट्रिय मोर्चाका दिलकुमार राई, खस समावेशी राष्ट्रिय पार्टीका गोबिन्द थापा, संयुक्त जनमोर्चाका पूर्णबहादुर राई र स्वतन्त्र उम्मेदवार बिष्णुराज राईको जमानत पनि जफत भएको छ । आफ्नो जमानत जोगाउनका लागि क्षेत्र नम्बर–२ का उम्मेदवारहरुले कम्तीमा ३ हजार ३ सय ३२ मत ल्याउन पर्ने थियो । 
दुवै क्षेत्रका उम्मेदवारहरुले बढिमा २ हजार २ सय ३२ भन्दा बढि मत ल्याएका छैनन् । कूल ९९ हजार ६ सय ६२ मतदाता रहेको खोटाङमा ७१ हजार १ सय ५ जनाले मतदान गरेका थिए । यसमध्ये ६६ हजार ६ सय ३१ मत सदर र ४ हजार ३ सय ९४ मत बदर भएको थियो । 
खोटाङको दुवै निर्वाचन क्षेत्रमा एमालेले विजय हाँसिल गरेको छ । जिल्लाको क्षेत्र नम्बर–१ बाट एमालेका पाँचकर्ण राई ‘पिके’, कांग्रेसका नरेशकुमार श्रेष्ठ र एमाओवादीका दुर्गाजयन्ती राई तथा क्षेत्र नम्बर–२ का एमालेका विशाल भट्टराई, कांग्रेसका विष्णुकुमार राई र एमाओवादीका देवान किराती ‘पृथ्वी’ ले मात्र आफ्नो जमानत जोगाउन सफल भएको छ ।