मंसिर–१६, खोटाङमा संघीय समाजबादी पार्टीका समानुपातिक उम्मेदवारको निधन भएको छ । नशा र कलेजोको समस्याबाट पीडित पार्टीका क्षेत्र नम्बर १ का समानुपातिक उम्मेदवार गणेश राईको ६२ वर्षको उमेरमा निधन भएको हो । 
दुर्छिम–४ का राईको ग्राण्डी इन्टरनेशनल अस्पताल काठ्माडौंमा उपचारकोक्रममा शनिबार बिहान निधन भएको संघीय समाजबादी पार्टीले जनाएको छ । संघीय समाजबादी पार्टीका केन्द्रीय सदस्य एबं अनुशासन समितिका सदस्य रहेका राईलाई नशा तथा कलेजोको क्यान्सर भएपछि अस्पतालमा भर्ना गरिएको थियो । राईको शनिबार राईसंस्कार अनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । संघीय समाजबादी पार्टीका अध्यक्ष अशोक राई, उपाध्यक्ष बिजय सुव्वा, बिश्लेषक हरि रोका, भूतपुर्व मन्त्री रकम चेम्जोङ, सर्वधन राई, पोलिटब्यूरो सदस्य रमेश राई लगायतले मृतक राईप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । राईको निधनमा संघीय समाजबादी पार्टी खोटाङले आइतबार श्रद्धाञ्जलीसभाको तयारी गरेको उपाध्यक्ष पिके खम्बूले जानकारीदिनु भयो । 
२०५४ सालभन्दाअघि तत्कालीन नेकपा एमालेको जिल्ला उपसचिव तथा एमालेमा फुट आएपछि तत्कालिन नेकपा मालेका जिल्ला सचिवको जिम्मेवारी सम्हालेका राईले महाकाली सन्धीको बिरोध अभियानमा जिल्लामा अगुवाको भूमीका निर्वाह गर्नुभएको थियो । सन्धीको बिरोधमा महाकालीमा मार्च पास गर्न पुगेका राईले महाकालीको पानी, ढुंगा र तस्बिर ल्याएर तीन वर्षसम्म पार्टी कार्यालयमा राख्ुन भएको थियो । 
कुशल खेलाडीकारुपमा समेत चर्चित राईले २०५२ सालमा सुकुम्बासी समाधान आयोगको जिल्ला अध्यक्षकारुपमा समेत काम गर्नुभएको थियो । मृतक राईका एक छोरा र एक छोरी छन् ।