मंसिर–१७, पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा बालाचतुर्दशी मेला शुरुभएसँगै भक्तजनहरुको बाक्लो भिड लागेको छ । झन्डै एक हप्तासम्म लाग्ने मेला भर्न, दर्शन गर्न र सतबीज छर्न श्रद्धालु तथा भक्तजनहरुको बाक्लो भिड लागेको हो ।

किरात, वौद्ध र हिन्दुधर्मावलम्बीहरुको त्रिबेणी स्थलकारुपमा मानिदै आएको हलेसीमा लाग्ने बालाचतुर्दशी मेला भर्न, धान, तिल, जौ, गहु, मकै, चना, कागुनो लगायतका अन्न मिसाएर तयार गरिएको सतबीज छर्न श्रद्धालु भक्तजनहरु आउँने गरेका छन् । हलेसीमा लाग्ने मेला भर्न र दर्शन गर्न नेपालबाहेक छिमेकी देश भारत, चीन, भुटान लगायतका ठाउँबाट भक्तजनहरु आउने गरेको हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।
धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरबगुफा, दुङ्देलो गुफा लगायतका स्थानहरुको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।
तराई र हलेसी जोड्ने हलेसी–जयराम सडक खण्डमा कालोपत्रे भएयता हलेसीमा आउने दर्शनार्थीको संख्या पनि दोव्वरले बढेको हलेसी मन्दीर व्यवस्थापन समितिले जनाएको छ । उत्तरतर्फको महालङ्गुर हिमश्रृंखला अवलोकन गर्न सकिने हलेसीमा रामनवमी, शिबरात्री, बालाचतुर्दशी र तिजको अवशरमा ठूलो मेला लाग्ने गरेको छ ।