मंसिर–१९, संघीय समाजबादी पार्टी खोटाङले संबिधानसभाको निर्वाचनकाक्रममा टाँसेको आफ्नो पर्चा तथा पम्प्लेट हटाएको छ । पार्टीले निर्वाचन प्रचार–प्रसारकाक्रममा सदरमुकाम दिक्तेल बजारमा टाँसेको आफ्नो पर्चा तथा पम्प्लेट मंगलबार हटाएको हो ।
पार्टीका जिल्ला अध्यक्ष सुर्यबहादुर राई नेतृत्वको टोलीले बिहानदेखि सदरमुकामका चोक, होटल, पसल तथा खम्बामा टाँसिएका पर्चा तथा पम्प्लेट हटाएका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले सदरमुकामको रत्नपार्कबाट संगमपार्क, त्रिबेणीचोक, भवनगैरा, पूरानो बैंकचोक, भानुचोक हुँदै हाटडाँडा क्षेत्रको पर्चा, पम्प्लेट हटाएका हुन् ।
निर्वाचनको समय र असर सकिइसकेका आफ्नो पर्चा तथा पम्प्लेट हटाएको संघीय समाजबादी पार्टी खोटाङका अध्यक्ष सुर्यबहादुर राईले बताउनुभयो । निर्वाचनको सफलतापूर्ण बिदाई स्वरुप ‘आफ्नो हातले टाँसेको पर्चा तथा पम्प्लेट आफ्नै हातले फालेको’ अध्यक्ष राईको भनाई छ । ‘भित्ता रंगाउनेगरी टाँस्न जान्ने हातले सफा गर्न पनि न त जान्नु पर्छ,’ अभ्ध्यक्ष राईले भने, ‘यो हाम्रो दायित्व पनि हो ।’
यसबाहेक जिल्लाका मूख्य बजार, गाउँ तथा क्षेत्रमा टाँसिएका आफ्नो पर्चा तथा पम्प्लेट हटाउनकालागि सम्बन्धित क्षेत्रका कार्यकर्तालाई निर्देशन दिइसकिएको संघीय समाजबादी पार्टीले जनाएको छ । यसकालागि प्रत्येक गाउँ कार्य समितिहरुलाई निर्देशन समेत दिइसकिएको अध्यक्ष राईले बताउनु भयो ।