मंसिर–२१, खोटाङको लिच्कीराम्चे–७ कालापानीमा नदीको पानी तान्ने प्रयास थालिएको छ । खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोसीको पानी तान्नका लागि ‘डिटेल सर्भे’ थालिएको छ । 
पम्पिङ गरी दुई हजार मिटर तल रहेको नदीबाट पानी तान्नका लागि ‘डिटेल सर्भे’ शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । वरपर भएका खानेपानीको मुहान सुकीसकेको र पानी ल्याउने अन्य वैकल्पिक श्रोत नभएको कालापानीमा रसुवाघाटबाट पानी तान्ने प्रयास स्वरुप ‘डिटेल सर्भे’ शुरु गरिएको वहाँको भनाइ छ । 
खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्राविधिकद्धय रामबहादुर राई र बमबहादुर राईको टोलीले ‘डिटेल सर्भे’ शुरु गर्नुभएको हो । दुई दिनमा ‘डिटेल सर्भे’ सकिने उपभोक्ता समितिले जनाएको छ । 
छिमेकी गाविस इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११० घरपरिवार अहिले कुवा र आहालको पानी पिउन बाध्य छन् । स्थानीयबासीका अनुसार सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कालापानीमा ल्याउने पानीको अन्य श्रोतको विकल्प छैन । उनीहरुका अनुसार कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था छ । 
सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कालापानीमा पानी तान्नकालागि गत असार १७ र १८ गते उदयपुरबाट ल्याइएका उपकरणहरु प्रयोग गरी प्रारम्भिक सर्भे गरिएको थियो । करिब एक करोडको लगानीमा पूरा हुने अनुमान गरिएको योजनाकालागि कांग्रेसका युवा नेता भूपेन्द्र राईमार्फत राष्ट्रिय योजना आयोग र यूनीसेफ लगायतका दातृ निकाय समक्ष सहयोगकालागि पहल भइरहेको उपभोक्ता समितिका अध्यक्ष राउतले बताउनुभयो । 
आयोजनालाई वर्ष दिनभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । कालापानीमा नदीको पानी निकाल्ने योजना सफल भए नदीको पानी तानेर खोटाङका अन्य सुख्खाग्रस्त क्षेत्रको खानेपानी समस्या हल गर्नमा सघाउ पुग्ने अपेक्षा राखिएको छ ।