मंसिर–३०, खोटाङका अधिकांश किसानले आयआर्जनका लागि व्यावसायिक अदुवा खेती शुरु गरेका छन् । जंगली जनावरले दुःख नदिने र अन्य खेतिको तुलनामा सजिलो हुने भएकाले सडक बिस्तार भएको गाविसका कृषकहरुले व्यवसायिक अदुवा खेती शुरु गरेका हुन् । 
मध्यपहाडी भेगको चिम्टिया र घमाइलो ठाउँमा प्रशस्त उत्पादन हुने र धेरै झन्जटिलो नहुने भएकाले आफूहरुले व्यवसायिक रुपमा अदुवा खेती शुरु गरेको कृषकहरुले बताएका छन् । पूर्वी पहाडी जिल्लाका किराती समुदायले आप्mनो परम्परागत संस्कार, संस्कृति तथा कूलपित्रीको पूजा गर्दा प्रयोग गर्न मात्र रोप्दै र प्रयोग गर्दै आएका अदुवा यतिबेला जुनसुकै जाति समुदायले व्यावसायिक खेती गर्न थालेका छन् । 
किरातीको अदुवा छोएमा हातखुट्टा बिग्रने र कुप्रो भइन्छ भन्ने रुढिवादी मान्यतालाई चिर्दै यहाँका क्षेत्री÷बाहुन, नेवार, तामाङ, मगर, गुरुङलगायत विभिन्न समुदायले आयआर्जनको माध्यम बनाएका छन् । तरकारीमा मसला, अचार, क्यान्डी, सुठोलगायत विभिन्न परिकारको निम्ति उपयोगी अदुवा स्वदेश तथा छिमेकी मुलुकहरुमा अत्याधिक बिक्री हुने गरेको व्यवसायीहरुले बताएका छन् । 
खोटाङका किसानहरुले अदुवाबाट वर्षेनी लाखौ रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आएको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । कृषि कार्यालयका अनुसार यस वर्ष खोटाङमा अदुवा उत्पादन वृद्धि भएपनि मूल्य घटेको छैन । यहाँ उत्पादित अदुवा स्थानीय हाटबजारमा र तराईका जिल्लातर्फ समेत निर्यात हुने गरेको छ । 
सदरमुकाम दिक्तेलबजारमा यतिबेला अदुवाको मूल्य प्रतिकेजी  ८० देखी एक सय रुपैयाँसम्ममा बिक्र हुने गरेको छ । अदुवाको भाउ उच्च भएकाले यसको खेतीतर्फ किसानहरु दिनप्रति दिन आकर्षित बन्दै गएका छन् । 
गाउँघरमै पाइने स्थानीय जातका अदुवालाई जिल्लाका किसानहरुले व्यावसायिक रुप दिएका हुन् । जिल्लाका नेर्पा, दोर्पा, रतन्छा, बाँझेच्यानडाँडा, लफ्याङ, बाम्राङ, याम्खा, खाल्ले, खार्पा, खार्मीलगायत अधिकांश गाउँका कृषकले अदुवा खेती गर्दै आएका छन् ।
जिल्लामा अत्यधिक मात्रामा अदुवा उत्पादन हुने भएपनि हालसम्म प्रशोधन केन्द्र भने, स्थापना गरिएको छैन । यसमा सरकारको समेत ध्यान जान नसकेको सरोकारवालाहरुको भनाइ छ ।