पुस–७, सामाजिक बहिस्कारमा परेका खोटाङका एक व्यक्तिले कानूनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । सामान्य झगडाको निहुँमा सामाजिक बहिस्कारमा परेका मात्तिम–७ का हिराकाजी बिष्टले आफू र आफ्नो परिवारलाई बहिस्कार गर्नेलाई तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङमा उजुरी दिएका हुन् । 
गत २०६९ साल फागुन–२३ गते भएको समान्य झगडाको विषयलाई लिएर आफूहरूलाई सामाजिक बहिस्कर गरेको भन्दै तत्काल कानूनी कारबाही गर्न तथा समाजमा पुनर्मिलन भएर बस्ने वातावरण मिलाई दिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ज्ञापन पत्र बुझाएको पीडित विष्टको भनाइ छ । जिल्ला प्रशासन कार्यालयमा बुझाएको ज्ञापन पत्र जिल्लास्थित राजनीतिक दल, मानव अधिकार आयोग तथा नेपाल पत्रकार महासंघलाई समेत वोधार्थका लागि उपलब्ध गराएका छन् । 
कार्यालयमा उजुरी परेसँगै घटनाबारे विस्तृत रुपमा बुझेर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसबारेमा प्रहरीले पटक–पटक मिलापत्र गराएकाले पुनः सत्यतथ्य छानविन गरेर कारबाही गर्न उसैलाई जिम्मा लगाएको हो ।’ 
झगडाको विषयलाई लिएर स्थानीय मानबहादुर खत्री, कोपिला खत्री, अर्जुन खत्री, शम्भु खत्री, धनबहादुर खत्री लगायतले आफूहरूलाई गाउँमा हुने सामाजिक कार्यमा संलग्न हुनबाट बन्चित गराउनुका साथै पूजाआजामा समेत समावेश हुन नदिएकाले आफ्नो र परिवारको मानमर्यादामाथि समेत कुठाराघात भएको विष्टको भनाइ छ । यसबारेमा दाजुभाइको निर्णयले त्यसो गरेको स्थानीय मानबहादुर खत्रीले बताउनुभयो ।