पुस–८, खोटाङको सदरमुकाम दिक्तेलमा सञ्चालन गर्न लागिएको रमाइलो मेला विवादमा फसेको छ । मेलामा जुवाजन्य तथा बिलासिताका खेल सञ्चालन गरिनुका साथै बिकृति फैलिने खतरालाई मध्यनजर गर्दै विरोधका आवाज उठ्न थालेपछि विवादमा फसेको हो ।
मेला सञ्चालनको मुख्य आयोजक बनेको नेत्रज्योति संघ समेत विवादमा फसेको छ । संघले बिचारै नपु¥याई मेला आयोजक बनेको र मेला सञ्चालनमा विभिन्न व्यक्ति तथा संस्थालाई कमिसनको चलखेल गरिने खुलासा भएपछि थप विवादमा फस्दै गएको बताइएको छ ।
मेला आयोजकहरूले जिल्ला प्रशासन, राजनीतिक दल, पत्रकार, डन लगायतलाई कमिसन वितरण गर्ने चर्चा चलेपछि त्यसको चर्को विरोध सुरु भएको जनाइएको छ । मेला सञ्चालनले जिल्लास्थित युवाहरू विलासितातर्फ लाग्दै ठूलो धनरासी खर्च गर्ने, त्यसले अर्थतन्त्र ओह्रालो लाग्ने लगायतका खतरा भएकाले मेला सञ्चालन गर्न नगर्न स्थानीयको माग छ । 
मेला सञ्चालनका लागि राजनीतिक सहमति जुटाउन हस्ताक्षर सङ्कलन समेत गरिएको थियो । तर हस्ताक्षर सङ्कलनका क्रममा विषयप्रति प्रष्ट नभई जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेको पाइएको छ । यसले जिल्लास्थित नेताहरूको जिल्लाप्रतिको गाम्भिर्यताप्रति प्रश्न खडा भएको छ ।
यसबारे बैठकको उपस्थिति भनेर आफूलाई हस्ताक्षर गराइएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । एकीकृत नेकपा माओवादी खोटाङकी संयोजक तथा पूर्व सभाषद् समिता कार्की ‘अस्मिता’ले विकृति फैलिने र अर्थतन्त्र धरापमा पार्ने मेला सञ्चालन गर्न नसकिने बताउनुभयो । 
मेला सञ्चालन हुनुपर्ने भन्दै जोड दिनेमा नेत्रज्योति संघका सदस्य समेत रहेका तथा पूर्व सांसद कुलप्रसाद फुयाल, संघका पदाधिकारी तथा एमाले जिल्ला सदस्य कुमारप्रसाद आचार्य, नेत्रज्योति संघका उपाध्यक्ष तथा खोटाङ उद्योग वाणिज्य संघका दोश्रो उपाध्यक्ष राजु लयालु लगायत जिल्लामा विभिन्न अराजक गतिविधि सञ्चालन गर्दै आएका डन संलग्न देखिएका छन् । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजू भने मेला सञ्चालनको विपक्षमा उभिएका छन् । 
मेला सञ्चालनका लागि अनुमति लिन प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका राजु लयालुको नेतृत्वमा गएका मेला आयोजकहरूको टोलीलाई प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले त्यतिकै फर्काइदिएका छन् । उहाँले यसका लागि ‘सबैको सहमति हुनु पर्नेमा जोड दिनुभएको छ ।