पुस–९, खोटाङको सदरमुकाम दिक्तेलमा सञ्चालन गर्न लागिएको रमाइलो मेला विवादमा फसेपछि अवरोध आएको छ । मेलामा जुवाजन्य तथा बिलासिताका खेल सञ्चालन गरिनुका साथै बिकृति फैलिने भन्दै स्थानीय राजनीतिक दल तथा नागरिक समाजको विरोध गरेपछि मेला सञ्चालनमा अवरोध आएको हो ।
मेला सञ्चालनअघि नै जिल्लास्थित राजनीतिक दल, प्रशासन, डन लगायतलाई कमिसन दिने चर्चा चलेपछि थप मेला सञ्चालनको मुख्य आयोजक बनेको नेत्रज्योति संघ समेत विवादमा फसेको छ । संघले बिचारै नपु¥याई मेला आयोजक बनेको र मेला सञ्चालनमा विभिन्न व्यक्ति तथा संस्थालाई कमिसनको चलखेल गरिने खुलासा भएपछि थप विवादमा फस्दै गएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष खुसनारायण सैजूले बताउनुभयो ।
अध्यक्ष सैंजूका अनुसार मेला आयोजकहरूले जिल्लाका प्रशासक, राजनीतिक दल, डन लगायतलाई कमिसन वितरण गर्ने चर्चा चलेपछि त्यसको चर्को विरोध भएको हो । मेला सञ्चालनले जिल्लास्थित युवाहरू बिलासितातर्फ लाग्नुका साथै ठूलो धनरासी खर्चने तथा अर्थतन्त्र ओह्रालो लाग्ने खतरा भएकाले मेला सञ्चालन गर्न नहुने नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो ।
मेला सञ्चालनबारे पटक–पटक सहमति खोजिए पनि त्यसले निकास पाउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जुवाजन्य खेल खेल्नबाट रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मेलाको नाममा आर्थिकरुपमा जिल्लालाई असर गर्ने खेल सञ्चालन गरिनुहुन्न ।’

यसअघि विभिन्न बहानामा दुई वर्षदेखि जिल्लामा मेला सञ्चालन हुँदै आएको थियो । यसरी सञ्चालन गरिँदै आइएको मेलाले जिल्लाको अर्थतन्त्र तथा सामाजिक सद्भाव बिग्रदै गएको श्रोतको दावी छ ।