पुस–१४, उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने सुनकोसी नदीमा जडान गरिँदै गरेको बेलिब्रिज नदीमा खसेको छ । एक सातादेखि जडान कार्य थालिएको बेलिब्रिज शनिबार भाँचिएर नदीमा खसेको हो ।
जडान गर्ने क्रममा भाँचिएर बेलिब्रिज शनिबार बिहान नदीमा खसेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादर खत्रीले बताउनुभयो । प्रजिअ खत्रीका अनुसार अब यो बेलिब्रिजले काम दिदैन भन्ने सडक विभागको भनाइ छ । उहाँले भन्नुभयो –‘सडक विभागले भने अनुसार अर्को खोजेर ल्याउनु पर्ने भएकाले केही समय लाग्छ रे ।’
त्यसो त एक महिनाअघि बन्नु पर्ने बेलिब्रिज पेटी ठेकेदारका कारण ढिलो गरी निर्माण सुरु भएको थियो । उषा निर्माण सेवाले ठेक्का पाएपछि उसले स्थानीयलाई पेटी ठेक्का दिएको थियो । 
पेटी ठेकेदारले नदीमा भएको पुलमा सामान लोडअनलोड र सामान ओसारपसार गर्ने भरियाबाट कमिसन लिन जडानमा ढिलाई गरेको थियो । समयमा बेलिब्रिज सञ्चालन नहुदा माथिल्लो सगरमाथा खोटाङ, ओखलढुंगा र सोलुखूम्बुका सर्वसाधारण मारमा परेका छन् । 
बेलिब्रिजको अभावमा तीन जिल्लामा उपभोग्य बस्तुको ढुवानीमा समस्या भएको छ । घुर्मी खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जोड्ने मुख्य नाका हो भने जयराम खोटाङ आउ–जाउ गर्ने मुख्य नाका हो ।
जिल्ला जोड्ने प्रमुख नाकामा बेलिब्रिज सञ्चालनमा नआउदा तीनै जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाव शुरु भएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुसनारायण सैजूले बताउनुभयो । उहाँका अनुसार तीनवटै जिल्लामा चामल, दाल, नुन, तेल, ग्याँस, चिनी लगायतका उपभोग्य वस्तुको मूल्य पनि बृद्धि भएको छ ।