पुस–१८, खोटाङका सभासद् सहितको एक प्रतिनिधि मण्डलले दूधकोशी नदीको बेलिब्रिज अन्यत्र नसार्नका लागि सडक विभागलाई दवाव दिएका छन् । सभासद पिके राई र खोटाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष उपीनकुमार राईसहितको प्रतिनिधि मण्डलले बुधबार सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीलाई कार्यकक्षमा भेट गरी खोटाङ र ओखलढुंगाको जयरामस्थित दूधकोशीको बेलिब्रिज अन्य ठाउँमा नसार्न दवाव दिएका हुन् । 
सुनकोशीको बेलिब्रिज जडानकाक्रममा भाँचिएपछि सो ठाउँमा दूधकोशीको बेलिब्रिज लैजाने तयारी गरिएपछि सभासद सहितको प्रतिनिधि मण्डल बेलिब्रिज नसार्नका लागि दवाव दिन सडक विभाग पुगेका हुन् । प्रतिनिधि मण्डलले महानिर्देशक कार्कीलाई दूधकोशीको बेलिब्रिज झिकेर सुनकोशीमा लैजानुको सट्टा अन्य विकल्प खोज्न आग्रह गरेका छन् । 
सुनकोशीको बेलिब्रिज जडानकाक्रममा गत शनिबार भाँचिएर नदीमा खसेपछि सडक बिभागले दूधकोशीको बेलिब्रिज सुनकोशीमा सार्ने तयारी गरेको थियो । खोटाङको मूख्य प्रबेशद्धारकारुपमा रहेको जयरामस्थित दूधकोशीको बेलिब्रिज हाल निर्माणाधिन अवस्थामा छ । यद्यपि, सुनकोशीमा सार्ने चर्चासँगै बेलिब्रिज जडानका काम ठप्प बनेको छ । 
महानिर्देशक कार्कीले दवादकालागि बिभागमा पुगेका प्रतिनिधि मण्डल समक्ष दूधकोशीको बेलिब्रिज अन्यत्र नलैजाने आश्वसन दिएको सभासद राईले जानकारी दिनुभयो । ‘हामीले सम्पन्न हुन लागेको दूधकोशीको बेलिब्रिज नसार्न कुरा राख्यौं,’ सभासद राईले भन्नुभयो, ‘डिजी (महानिर्देशक) पनि हाम्रा कुरामा सकरात्मक हुनुहुन्छ ।’

दूधकोशीको बेलिब्रिज सार्नुको सट्टा सुनसरीको भाण्टाबारीमा रहेको अर्को बेलिब्रिज ल्याएर सुनकोशीको अधुरो बेलिब्रिज पूरा गर्ने प्रतिनिधि मण्डललाई कार्कीको जवाफ थियो । भाँचिएर नदीमा खसेको बेलिब्रिजको सामान झिक्ने र भाण्टाबारीबाट ल्याइने सामान जुटाएर सुनकोशीको बेलिब्रिज पूरा गर्ने महानिर्देशक कार्कीले आश्वासन दिनु भएको प्रतिनिधि मण्डलले जनाएको छ । 
दूधकोशीमा निर्माणाधिन अस्थायी बेलिब्रिज सुनकोशीमा सार्ने तयारी भएलगत्तै जिल्लामा चौतर्फी विरोध शुरु भएको छ । जयराम नजिकका गाबिस बाहुनीडाँडा र डिकुवाका स्थानीय युवाहरूले सार्न नदिन बेलिब्रिज नियन्त्रणमा लिएका छन् । 
बेलिब्रिज झिक्नका लागि नट बोल्ट खोल्न आएका एक टोलीलाई उनीहरुले फर्काइदिएका छन् । बेलिब्रिज रोक्नकालागि जनशान्ति युवा क्लव, योङ स्टार युवा क्लव, आङबुहाङ सेवा समाज, स्थानीयबासी खटिएको जनशान्ति युवा क्लव डिकुवाका अध्यक्ष सम्बर राईले बताउनुभयो । 
यसैगरी, नेकपा एमाले खोटाङले उदयपुर र ओखलढुंगाको घुर्मीस्थित सुनकोशीको बेलिब्रिज भाँचिएको विषयलाई शंकास्पद मानेको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै एमालेले तोकिएको समयमा बेलिब्रिज निर्माण नहुनु, काममा ढिलासुस्ती गरिनु र जडान भइरहेकै अवस्थामा बेलिब्रिज भाँचिनुलाई शंकास्पद मानेको हो । 
जडान भइरहेको बेलिब्रिज पूरा नहुँदै भाँचिनुलाई संयोग मात्र मान्न नसकिने एमालेको दाबी छ । जडानकै क्रममा बेलिब्रिज भाँचिनुमा ‘निर्माण कम्पनी, पेटी ठेकेदार र प्रशासनको कर्मचारीहरुकै मिलेमतो त रहेको छैन ?’ भन्ने गम्भीर प्रश्न उब्जिएको एमाले अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । एमालेले सुनकोशी र दूधकोशीमा निर्माणाधिन पुललाई पनि तदारुकताकासाथ निर्माण गर्नकालागि पहल गर्न प्रशासन समक्ष आग्रह गरेको छ ।