पुस–२५, विद्यालयको भवन वितरणको विषयलाई लिएर तीन सातादेखि शुरु भएको खोटाङका राजनीतिक दलहरूबीचको विवाद थप उत्कर्षमा पुगेको छ । शिक्षा कार्यालय मार्फत वितरण गरिने विद्यालयको भौतिक सुधार कार्यक्रम अन्तरगत चार कोठे र दुई कोठे विद्यालय भवन वितरणमा भागबण्डा नमिलेपछि जिल्लाका प्रमुख राजनीतिक दलबीचको विवाद चुलिएको हो ।
एमालेले प्रस्ताव गरेको विद्यालयलाई अन्य दलले सहमति नगरेपछि विवाद चुलिएको सुरु भएको थियो । आफूले प्रस्ताव गरेको अर्खौलेस्थित सरस्वती उच्च माविलाई भवन नपर्ने भएपछि एमाले बैठकबाट बाहिरिएको थियो । शिक्षा कार्यालयले विद्यालय भवन वितरणबारे पुस–३ गते बोलाएको बैठकमा एमाले अध्यक्ष बबि चाम्लिङ र जिल्ला सचिव राजन राई बैठकबाट बाहिरिएका थिए । 
उनीहरू बाहिरिएपछि नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, संघीय समाजवादी, नेकपा–माओवादी र नेपाल कम्युनिष्ट पार्टीले भवन वितरण गरेका थिए । एमालेले अघिल्लो वर्षको सहमती लागू गर्नु पर्नेमा अडान कसेपछि विवादले चर्को रूप लिएको छ । यसका बारेमा बुधबार बसेको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको बैठकमा सहभागी राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अन्य दलहरु आ–आफ्नै अडानमा रहेकाले सहमतीका लागि पुनः बैठक बस्ने निर्णय भएको छ ।’
अघिल्लो वर्ष साकेला उच्च मावि रतन्छा, सरस्वती उच्च मावि अर्खाैले र महेन्द्रोदय उच्च मावि हलेसीलाई प्राथमिकतामा राख्ने सहमती भएको तर अहिले गत वर्षको प्राथमिकतामा राखिएका विद्यालयहरूमध्ये अर्खौलेलाई भवन नपर्ने भएपछि आफूहरूले बैठकबाट बाहिरिएको एमाले जिल्ला सचिव राजन राईले बताउनुभयो ।
कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राईले भने अघिल्लो वर्ष साकेला उच्च माविलाई मात्र सहमती गरिएको तर, अन्य दुई विद्यालयको हकमा भने सहमती नभएको बताउनुभयो । राईले भन्नुभयो– ‘सहमती नभएको विद्यालयको नाम बैठकपछि थपिएको खुलासा भएकाले त्यसलाई मान्यता नदिइएको हो ।’ उहाँले थप्नुभयो–‘पोहोरको बैठकमा साकेला उच्च माविको हकमा सहमती भएको हो, एमालेका साथीहरूले शिक्षाका कर्मचारीहरूलाई प्रभावमा पारेर बैठक पुस्तिकामा निर्णय लेखाएका रहेछन्, त्यसैले हामीले त्यो निर्णयलाई मान्यता दिएनौं ।’
एमाले बाहेकका अन्य दलहरूले जिल्लाका नौं विद्यालयलाई भवन वितरण गरेका छन् । एमाओवादीकी दुर्गाजयन्ती राईका अनुसार जालपा उच्च मावि जालपा, पञ्चकन्या उमावि माला बिजयखर्क, महेन्द्रोदय उमावि हलेसी, पिपलडाँडा देविस्थान उमावि मङ्गलटार, विश्वज्योति उमावि लामिडाँडा, साकेला उच्च मावि रतन्छा, शान्ति उमावि छोरम्बु, राधाकृष्ण उमावि बाँझेच्यानडाँडा र कृष्ण उमावि टेम्मालाई चारकोठे भवन योजना उपलब्ध गराउने निर्णय गरेका हुन् । 
भवन वितरणमा सहभागीहरूले आवश्यकता, औचित्यता र स्रोतकेन्द्रस्तरीयता मापदण्डको आधारमा योजना बाँडिएको बताएका छन् । यसबारे एमाले र अन्य दलहरू बीच विज्ञप्तीबाजी समेत भएको छ । विज्ञप्तीमा एकअर्कामा दोषारोपण गरेका छन् । सहमतीमा भवन निर्माण योजना वितरणबारेमा जिल्ला शिक्षा समितिमा पुगेर मात्र छिनोफानो हुने जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनुभयो ।