पुस–२९, गाउँमा सडक पुगेपछि खोटाङको चिसापानीका सुन्तला व्यवसायीले खुसीयाली मनाएका छन् । स्थानीय चिसापानी–मालबासे–घोर्ले कृषि सडक सञ्चालनमा आएपछि चिसापानी–३ घोर्लेका सुन्तला व्यवसायीले शुक्रबार एक कार्यक्रम गरी खुसीयाली मनाएका हुन् । 
आफ्नो गाउँमा उत्पादन भएको सुन्तला यातायातका सवारी साधनमार्फत तराईका बजारसम्म निकासी हुने बाटो खुलेपछि घोर्लेका सुन्तला व्यवसायी हर्षित भएका छन् । छिमेकी गाविस डम्बर्खुशिवालय, चिसापानी, दिप्लुङलगायतका सर्वसाधारणलाई निमन्त्रणा गरी घोर्लेमा खुसीयाली मनाइएको स्थानीय शिक्षक कपिलराज घिमिरेले जानकारी दिनुभयो ।
गाउँमा सडक पुगेको खुसीयालीमा आमा समूह लगायत ६ वटाभन्दा बढि संघसंस्थाहरुले सडक खन्दै गाउँमा पुगेका स्क्याभेटर अपरेटरलाई १५ हजार पैसाको र स्क्याभेटरलाई सुन्तलाको माला लगाइदिएका थिए । डोकोमा बोकेर हप्ता दिनको बाटो हिँडेर उदयपुरको बेलटार पु¥याएर बिक्री गरिँदै आइएको सुन्तला गाडीबाट निर्यात गर्ने वाताबरण बनेपछि खुसीयाली मनाइएको स्थानीय सुन्तला व्यवसायी दिलीप राईले बताउनुभयो । घोर्ले गाउँमा सुन्तला बाहेक सुन्तलाको बेर्ना समेत उत्पादन हुँदै आएको छ ।