पुस–३०, राजनीतिक दलहरुबीचको चर्को विवादका बाबजुद पनि खोटाङका ४१ वटा विद्यालयका लागि शिक्षा विभागबाट आएको भौतिक सुधार कार्यक्रम अन्तरगतका भवन वितरण गरिएको छ । नेकपा एमालेको चर्को बिरोधका बाबजुद नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, संघीय समाजवादी लगायतका ८ दलले ४१ वटा विद्यालयलाई विभागबाट आएको २ कोठे विद्यालय भवन वितरण गरेका हुन् । 
भवन वितरणमा विवाद भएपछि एमाले बाहेकका दलहरुको पटक–पटक बसेको बैठकले भवन पाउने विद्यालयको टुंगो लगाएको श्रोतले जनाएको छ । आफूले प्रस्ताव गरेको विद्यालयलाई भवन नपरेको भन्दै नेकपा एमाले शिक्षा समितिको बैठकबाट बाहिरिएपछि अन्य ८ दलले मात्र उक्त विवादित भवन बाँडेको हो । 
यद्यपि ८ दलले भवन पाउने विद्यालयहरुको नामावली सार्वजनिक गर्न भने, मानेका छैनन् । ती दलहरुले निर्णय कार्यान्वयनका लागि बैठकले गरेको निर्णयको प्रतिलिपी कार्यालयमा बुझाइसकेको जिल्ला शिक्षा कार्यालय खोटाङका निमित्त प्रमुख अशोक पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसका बारेमा कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन ।’
यसअघि, एमालेको अनुपस्थितिमा नै उनीहरुले ९ वटा उच्च माविका लागि आएको ४ कोठे विद्यालय भवन बाँडिसकेका छन् । 
भवन वितरणमा कुरा नमिलेपछि कांग्रेस, एमाओवादी, संघीय समाजवादी लगायतका ८ दल एकतिर र एमाले अर्कातिर बसेर विवाद शुरु भएको थियो । आ–आफुले प्रस्ताब गरेको विद्यालयलाई भवन नपरेको विषयलाई लिएर उनीहरुबीच विज्ञप्तीमार्फत चर्को विरोध गरागर भएको थियो । 
साकेला उच्च मावि रतन्छा, सरस्वति उच्च मावि अर्खौले र महेन्द्रोदय उच्च मावि महादेवस्थानलाई चार कोठे भवन दिनका लागि गत वर्ष नै निर्णय गरिएको र सो निर्णयलाई यसपल्ट कार्यान्वयन गर्नुपर्ने एमालेको अडान तथा आवश्यकताको आधारमा भवन वितरण गर्नुपर्ने अन्य दलको अडानका कारण उनीहरुबीच विवाद शुरु भएको हो । भवन वितरणका लागि भन्दै गत पुस–३ गते यता विभिन्न समयमा बसेको शिक्षा समिति तथा दलहरुको बैठक ६ पटक विना निष्कर्ष टुंगिएको थियो । 
एमालेले बैठक नै बहिस्कार गरेपछि ८ दलको आफूहरुले आवश्यकताको आधारमा भवन वितरण गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार ८ दलको बैठकले गौरी पञ्चकन्या निमावि फेदी–८, शुक्रजित मावि खार्ताम्छा–५, जालपा निमावि पाथेका–९, जनता प्रावि मात्तिम–४, सिद्धेश्वर मावि खिदिमा–३, पञ्चकन्या निमावि डाँडागाँउ–२, महेन्द्रतारा निमावि मुलाबारी बतासे, सरस्वति प्रावि च्यानडाँडा, दोवेलाबीच निमावि चिउरीडाँडा, गुप्तेश्वर प्रावि लामीडाँडा, सन्सारीटार प्रावि खिदिमा, रावारेनुका प्रावि डुम्रेधारापानी, सन्तद्धय मावि ज्यामिरे, बालसुधार प्रावि पाथेका–४, इन्द्रेणीपोखरी मावि इन्द्रेणीपोखरी, सुन्तले प्रावि सुन्तले, भानुभक्त निमावि साउनेचौर, पञ्चकन्या वारीखुम प्रावि स–छितापोखरी, महेन्द्रोदय मावि वाप्लुखा, सरस्वती प्रावि दुर्छिम, गगनचुम्बी प्रावि बुइपा–८ लाई भवन वितरण गरिएको छ । 
यस्तै, दलित जनजागृति प्रावि धितुङ, कालिका प्रावि कुभिण्डे, जनज्योति प्रावि हलेसी–६, बोझेओढार प्रावि बडहरे, सारदा प्रावि बोपुङ, रेनुका निमावि दिप्लुङ, पार्वती निमावि खार्मी, किरातेश्वर प्रावि बाहुनीडाँडा, कालिका प्रावि दिक्तेल, चोमोलुङ्मा प्रावि च्यास्मिटार, राष्ट्रिय मावि बासपानी, हिमगंगा प्रावि अर्खौले, सरस्वति प्रावि राजापानी, मौवाबोटे प्रावि मौवाबोटे, शंखेश्वरी मावि बाराहापोखरी, जनसेवा मावि छितापोखरी, वौद्ध निमावि बाकाचोल–९, कालिका प्रावि बाहुनीडाँडा र बसन्त प्रावि खाल्ले–३ लाई भवन वितरण गरिएको छ । 
यस्तै, सावित्रा मावि बाम्राङ, पञ्च मावि दिक्तेल, सरस्वति मावि पाथेका, अन्नपूर्ण मावि चिउरीडाँडा, महेन्द्रोदय मावि याम्खा र जनविकास मावि साउनेचौरलाई ठूलो मर्मतका योजना वितरण गरिएको श्रोतले जनाएको छ । ८ दलले शौचालय पाउने ३१ विद्यालय, बाह्य वातावरणको योजना पाउने ४४ विद्यालय र सानो मर्मत योजना पाउने ४१ विद्यालयको टुंगो लगाएर शिक्षा कार्यालयलाई दिएको छ । 
आफ्नो असहमतीमा गरिएको निर्णय मान्य नहुने एमालेको अडान कायमै छ ।