माघ–५, प्रहरी संगठनलाई प्रभावकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले नागरिकबाट सुझाव संकलन थालेको छ । सदरमुकाम दिक्तेलका विभिन्न स्थानमा शिविर राखेर प्रहरीले सर्वसाधारणबाट सुझाव संकलन थालेको हो । 
प्रहरीको सेवा प्रवाहलाई समय अनुकुल सुधार तथा परिवर्तन गर्नका लागि नागरिकबाट सुझाव संकलन थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । शिविरमा ‘तपाई प्रहरीले दिने सेवामा कस्तो अपेक्षा गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा आधारित रहेर सुझाव पुस्तिकामा सुझाव लेखेर प्रहरीलाई सुझाब दिन सकिने व्यवस्था मिलाइएको छ ।
प्रहरीको सेवालाई प्रभावकारी बनाउनका लागि आवश्यक सुझाब दिने व्यक्तिको नाम गोप्य राख्न समेत सकिने रेग्मीले भनाइ छ । उहाँका अनुसार हप्ता दिनसम्म सुझाव संकलन गरिने छ । प्रहरीले ‘तपाई प्रहरीले दिने सेवामा कस्तो अपेक्षा गर्नुहुन्छ ?’ भन्ने प्रश्न लेखिएको ब्यानर, टेबलमा सुझाव पुस्तिका सहित दिक्तेलको हाटडाँडा, रत्नपार्क, बसपार्क लगायतका क्षेत्रमा शिविर राखिएको जनाएको छ । 
प्रहरी संगठनको सेवालाई थप प्रभावकारी बनाउनका लागि उत्कृष्ट सुझाव दिने नागरिकलाई पुरस्कारको व्यवस्था गरिएको छ । लिखितरुपमा प्राप्त भएको सुझावका आधारमा स्थानीय स्तरबाटै हल गर्न सकिने भए स्थानीयस्तरबाटै हल गर्ने, नभए क्षेत्रीय वा प्रहरी प्रधान कार्यालयमार्फत सेवालाई सुधार गरिने प्रहरीले जनाएको छ । 
‘सेवा प्रवाहमा प्रहरी संगठनले सुधार गर्नुपर्ने सुधारको सुझाव संकलन गर्दैछौँ,’ प्रहरी निरिक्षक रेग्मीले भन्नुभयो, ‘त्यसपछि त्यही सुझावको आधारमा हाम्रो सेवामा सुधार ल्याउने पहल थाल्ने छौँ ।’