माघ–६, खोटाङका झण्डै २० हजार निरक्षर नागरिकलाई साक्षर बनाउने अभियान थालिएको छ । साक्षर नेपाल अभियान अन्तरगत तीन महिनाभित्र जिल्लाका १९ हजार ९ सय ८५ निरक्षर नागरिकलाई साक्षर बनाउने अभियान थालिएको हो । 
सबैका लागि शिक्षाको अवसर सिर्जना गर्दै निरक्षरमुक्त जिल्ला बनाउने उद्देश्यका साथ जिल्लाका ४९ गाविसमा साक्षर अभियानका कक्षा शुरु गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले बताउनुभयो । औपचारिक शिक्षाबाट वञ्चित बनेका बालबालिका तथा प्रौढलाई सहभागी गराएर साक्षरता कक्षा प्रणाली तथा समुह प्रणालीका कक्षा सञ्चालन शुरु गरिएको थापाको भनाइ छ ।
नेपाली वा मातृभाषामा लेखिएका शब्द, वाक्य, सामान्य लिखत पढ्न, दैनिक जीवनयापनका क्रममा आवश्यक अंक गणितीय हिसाब गर्न सक्षम बनाउने लक्ष्यका साथ कक्षा थालिएको हो । तीन महिनाको अवधिमा जिल्लाका बाँकी रहेका करिब २० हजार निरक्षरलाई साक्षर बनाइने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
२०६७ सालको तथ्यांक अनुशार जिल्लामा निरक्षर सर्वसाधारणको संख्या ४४ हजार १४२ जना थियो । साक्षरता अभियानका कक्षा सञ्चालनकालागि गाविसका सबैभन्दा ठूलो विद्यालय तथा सामुदायिक अध्ययन केन्द्रलाई जिम्मेवारी दिइएको छ । 
गत वर्ष २७ गाबिसका ११ हजार ९८० निरक्षरलाई सहभागी गराएर साक्षरता अभियानको कक्षा सञ्चालन गरिएको थियो ।