माघ–६, भाडाको विषयलाई लिएर खोटाङमा बस काउण्टरका दुई कर्मचारी कुटिएका छन् । रेग्मीटारबाट दिक्तेल आउने क्रममा भाडाको विषयमा विवाद हुँदा खोटाङ बस व्यवसायी संघका रेग्मीटार काउण्टरका कर्मचारी जीवन्तराज राई र रोशन राईमाथि कुटपिट भएको हो । कुटपिटबाट घाइते जीवन्तराज बुइपा–९ र रोशन बुइपा–२ का हुन् । 
घाइतेमध्ये जीवन्तराज गम्भीर रहेको आफन्तको भनाइ छ । उनीहरुको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । उनीहरुलाई रेग्मीटार–दिक्तेल सडक खण्डको राजापानीमा बस रोकेर कुटपिट गरेको बस व्यवसायी संघ खोटाङका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । राजापानीका कुमार बुढाथोकीको निर्देशनमा सोही गाविसका नवराज रेग्मी, कमल रेग्मी लगायतको समुहले स्टाफमाथि कुटपिट गरेको जनाइएको छ ।
रेग्मीटारबाट बस चढेका बुढाथोकी सहित ४ जनालाई भाडा नदिएको भन्दै बाटैमा ओरालिए पछि उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उक्त समूहले कुटपिटमा संलग्नलाई छुटाउन गएका यात्रुलाई समेत हातपात गरेको स्थानीय सुनिल राईले जानकारी दिनुभयो ।
बस काउण्टरका कर्मचारीमाथि कुटपिटमा संलग्न कुमार बुढाथोकी र नवराज रेग्मीलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरी चौकी बुइपाबाट खटिएर गएका प्रहरीले पक्राउ गरेको हो ।