–अनिला राई (वालक्पु), खोटाङ

झुलिरहेका धानका बालाहरु, जसमा तप्किएर सुर्योदयको पर्खाइमा रहेका शितको बुदँहरुलाई हरसम्भव जोगाउँदै हाम्रा पाईलाहरु अगाडी बढ्न थाल्यो । सुर्यले धरतीलाई चुम्नुपुर्ब हामी पहेँलपुर धानको खेतहरुमा पुगिसकेका जो थियौ । बिहानीको समय चिसोले ओठबाट बाफ निस्कँदै गर्दा अनुहारको चमक भने बेग्लै थियो, जुन सधै कहाँ हुन्थ्यो र ?

हामी यात्रामा थियांै, घरबाट पुर्बतिरको यात्रामा । पुर्ब अर्थात सुर्योदय हुने दिशा । पुर्ब अर्थात मैयुङ जसलाइ गन्तव्य बनाएर यात्रामा निस्किने योजना बल्लतल्ल सफल भएको थियो । यात्राको अघिल्लो दिनबाटै हाम्रो आँेठमा मुस्कान फक्रीरहेको थियो । भोलिपल्ट सबेरै हिँड्ने योजना भएकोले लगभग प्याकिङ्ग पहिलो दिन नै सकाएको थियौं । आवश्यक सामानले नै ब्यागप्याक अटेसमटेस भएको थियो । यात्राको पहिलो दिन घाम झुल्कन नपाउँदै हिड्यांै पाँच जनाको टोली , सुर्योदय हुने दिशातिर अर्थात पुर्बतिर ।

धानको खेतहरु हुँदै लगभग दुई किलोमिटर जति हिँडेपछी बाँकी बाटोसँग म अनभिज्ञ थिएँ । अरु सहयात्रीहरुको लागि त झनै नयाँ ठाउँ थियो तसर्थ उनिहरुलाई थाह हुने कुरै थिएन । हामीलाइ गन्तव्य थाहा थियो तर बाटो थाह थिएन । आफ्नै गाउठाउ हुँदै गर्दा नि म पुग्दै नपुगेको गाँउहरु थिए । हिँड्दै नहिँडेको बाटोहरु थिए । कहिलै नदेखेको अनुहारहरु थिए, जसले यात्रालाइ झन रोचक बनाइरहेको थियो । तिनै अपरिचित अनुहारहरुलाइ शुक्रबारे जाने बाटो सोध्दै हामिले यात्रालाइ निरन्तरता दिइरह्यौं ।

शुक्रबारे भन्ने ठाउँ खोटाङको केपिलासगढी गाउँपालिका वडा न. १ फेदिमा पर्छ । हामी त्यहाँसम्म सोध्दै–खोज्दै पुग्नु थियो । त्यसपछी बाँकि यात्रामा हामीलाई गाइड गर्दैहुनुहुन्थ्यो समीप दाजैले । हाम्रो यात्राको योजनाको मुना पलाउनु , हुर्कनु र फक्रिनुको पुरै श्रेय उहालाइ नै जान्छ । मुन्धुम पदमार्ग भएर मैयुङ प्रायगरि खोटाङ दिक्तेलबाट चखेवा हुँदै जाने भएता पनि हामिले अर्को मार्ग रोजेका थियौ । पुरै यात्रा पैदल गर्ने हाम्रो निर्णय थियो । तसर्थ यो यात्रा हाम्रो लागि चुनौतीपूर्ण थियो । कुनै ठाउँ ठाडो उकालो । कतै पाइलासम्म राम्रोसँग नअँटाउने भिरको बाटो, कहिँ कतै लमतन्न सुतिरहेको ग्रामीण सडकहरु त्यसमाथि चर्को घाम तलबाट जमिनको राप । पहिलो दिनको बाटोको कथाहरु यस्तै थिए । सडकमा पैदल हिड्न निक्कै कठिन भइरहेको थियो । माथिबाट चर्को घाम अनि तलबाट जमिनको रापले गर्दा श्वास लिँदा अक्सिजन नै अपर्याप्त भएजस्तो महसुस भइरहेको थियो । पानी भेट्न निक्कै मुस्किल थियो । तिनै कठिन समय र बाटो पार गरेर हामि बल्लतल्ल शुक्रबारे पुग्यौं । त्यहाँ पुगेपछि थाहा भयो दाजैले हामिलाइ त्यहाँ नभएर अर्को डाँडामा पर्खिरहनुभएको रहेछ जसलाई तपसी डाँडा भनिँदो रहेछ ।

तपसी

तपसी सुन्दर नाम उस्तै ठाउँ । थोरै उठेको रोडको टर्निङ्गनेर दुईओटा पसल र होटल रहेछ । माथितिर अग्लो डाँडा , तलतिर अनि छेवैमा पनि बगिरहेको नदि । लगभग सुक्रबारेबाट दुई किलोमिटर जति हिँडेपछी हामी त्यहाँ पुग्यौं । दाजैलाइ देखेरै राहत मिलेको अनुभव भयो । होटेलमा चाउमिन बन्दै गर्दा हामिले घरबाट बोकेको सुक्खा रोटि, चना र मासुको तरकारी झिकेर खायौं । त्यो दिनको घाम त्यति चर्को थियो पत्रिकामा प्याकिङ्ग गरेको सुक्खा रोटिबाट बाफ निस्किएर पत्रिका नै भिजेको थियो जसबाट निस्किएर अक्षरहरु सुख्खा रोटिमा लतपतिएका थिए ।
घाम पश्चिमतिर पुगिसकेको थियो । हामी भने निरन्तर पुर्बतिरकै यात्रामा थियौं । त्यो समयसम्म तापक्रम अनुकूल बनिसकेको थियो । हामी निक्कै उत्साहित भएर तपसिबाट अघि बढ्यौं । साझसम्म हामीले सात ओटा झोलुङ्गे पुल पार ग¥र्यौ । सातौं पुल पार गरेर भिर हुँदै जङ्गलको अफ्ठ्यारो बाटोबाट जोगिएर हिँड्दै गर्दा तापखोला तलतिर बग्दै थिइन ।

त्यतीबेला हामी गुन्गुनाउँदै थियौ जीतेन राईको गीत,

आँसु भइ छछल्किन्छ तावा–रावा खोला
दिदी बैनी छुटिएको त्यहाँ कथा होला
ए नाना छापारी…

तावा(तापखोला) र रावाखोलालाइ किरातीहरुले दिदीबहिनी मान्छन् । रावा दिदी हुन भने तावा बहिनी । उनीहरु दुबैको उदगमस्थल लौरेडाँडा भए पनि छुट्टिएर बग्छन र विभिन्न डाडाकाडा हुँदै बगेर अन्तत ती दुइ खोला एकै स्थानमा मिल्न पुग्छन । उनिहरुको संगमस्थललाइ पनि फेदि नै भनिन्छ जुन खोटाङको जालपा, सप्तेस्वर र माक्पाको सिमानामा पर्दर्छ । दिदी–बहिनी सम्बन्धी यस्तो रोचक किँवदन्तीहरु सुन्दै हुर्किएको म नजिकैबाट तावा बगेको हेर्न पाउदा, उनिहरुको उद्गमस्थल छेउछाउ पुग्न पाउँदा निक्कै खुशीको अनुभुति भइरहेको थियो ।

पहिलो दिन बिहानदेखि साँझसम्मको पैदल यात्रापछि त्यो दिनको यात्रा मावली घर(समीप दाजैको घर)को न्यानो स्वागतसँगै अन्त्य भयो । दिनभरको हिँडाइले थकित हामी भोलिको यात्राको लागि अझ एक्साइटेड थियौं, कारण भोलिपल्टको यात्रा मुन्धुम पदमार्ग हुँदै थियो ।
भोलिपल्ट मौसम एकदम चिसो थियो । रातिबाट नै पानी पर्न सुरु भईसकेको थियो । ३–४ दिन देशभरिकै मौसम प्रतिकुल हुने कुरा रेडियोले बताइसकेको थियो । तर पनि यात्रालाइ निरन्तरता दिनुभन्दा अन्य बिकल्प हामीसँग थिएन । लगभग तीन घण्टाको उकालो हिँडेर हामी बलौटे भञ्ज्याङ् निस्कियौं । जहाँबाट सुरु हुन्छ मुन्धुम पदमार्ग ।

बलौटे भन्ज्याङ

बलौटे भन्ज्याङ्ग खोटाङ र भोजपुरको सिमानामा पर्छ । जहाँ पुगेर भोजपुर र खोटाङ दुबैतर्फ हेर्दा हाम्रो आँखा खुशीले रसाएको थियो । पहाडमा बसेर पनि पहाडको सिमित सुन्दरता मात्र देखेका रहेछौं भन्ने यथार्थ हाम्रो आँखा अगाडी थियो । अनन्तसम्म फिँजिएको निलो आकाशमा कहिँकतै सेतो बादलको टुक्रा , शान्त भई उभिएका मोडदार पहाडहरु पनि निल्लै रङ्गका, जोसँग लुकामारी खेल्दै गरेका बादलहरु । लगभग दुई घण्टा त्यहाँ समय बिताएपछी हामीले यात्रालाइ निरन्तरता दियौ । त्यो अवधिमा त्यहाँ रहेको गोठमा खाना बनाउने, खाने काम भयो । चिसो हावा चलिरहँदा गोठ छेवैको साग टिपेर पदमार्गको ढुङ्गे धारामा जुनु र मैले धोयौं, जहाँको पानीको तापक्रम सायद माइनस सेन्टिग्रेडमा पो थियो कि ?

यात्रा मुन्धुम पदमार्ग हँुदै अगाडी बढ्न थाल्यो । बीचमा पदमार्ग, जस्को दुबै साइडमा कतै जङ्गल त कतै चौरहरु । मुन्धुम पदमार्गको बाटोहरु यस्ता छन जहाँ जति हिडेनि हिडिरहुँ लाग्छ, वरपरको दृश्यहरु झन्–झन् सुन्दर । जसलाई आँखाले कैद गरेर कहिलै अघाउँदैन । प्रकृतिमा कृत्रिमता थप्न जाने प्रकृति अझ सुन्दर हुन सक्छ , मुन्धुम पदमार्ग यसैको उदाहरण हो । छेउछेउको चौरहरुमा बुकिफूल लगायत अन्य स–साना पहेँलो, सेतो रङ्गका फूलहरु फुलिरहेका थिए । ती फूलहरु सुर्यमुखी जस्तो देखिने भएकोले जुनुले ती फूलको नामाकरण गरेकी थिइन “मिनि सनफ्लावर” । फोटो जर्नालिज्म पढेकी उनी मान्छेको भन्दा प्रकृति र त्यहाँ भएको अवयवहरुको फोटो खिच्नमा रुचि देखाउँदै थिईन् ।
पदमार्र्गको बारेमा दाजैले बताईरहनुभएको थियो । मुन्धुम पदमार्गमा स्विस सरकार, प्रदेश सरकार र स्थानीय सरकारको लगानी रहेको कुरा हामीले थाहा पायांै ।

पदमार्गमा भेटिने प्रत्येक चौतारीहरुमा हामी केहिबेर सुस्ताउँदै अघि बढ्यौ । चौतारी छेवैमा ढुङ्गाले बनाइएको डस्टबिन हेर्दै गर्दा एक बर्ष अगाडी मात्र नगरपालिकाबाट वडालाइ बितरण गरेर नि फुटिसकेका रबरको डस्ट्बिन सम्झँदै थिएँ । पदमार्गमा पानी जम्न नदिनको लागि ठाउँठाउँमा बनाइएको निकास देख्दा हाम्रो गाउँठाउँको डोजरे बिकासले ल्याएको कच्ची रोड जहाँ हिउद बर्खै पानी जमेर बनेको खाल्डोहरु झलझल आँखामा आउदै थियो ।

गुरासको घना जङ्गलभित्र हिँडिरहदा हामी चकित थियौ, कारण त्यति अजङ्गको गुराँसको बोट हामीले पहिलो चोटि देखिरहेका थियौं । वसन्त ऋतु भएको भए ती बोटहरुमा ढकमक्क गुराँस फुलिरहेका हुन्थे । जसको कल्पना सम्मले हृदय खुसी भएको थियो । ती अजङ्गको गुराँसको बोटहरु पुस्तौंदेखि उभिएका कुरा उनीहरुको बनोटबाट स्पष्ट हुन्थ्यो । गुराँसको बोटमा परजीबि भएका झ्याउहरुको अस्तित्व राम्रैसँग फैलिएको थियो । जसले भुईँसमेत छोइसकेका थिए । ती घना जङ्गलभित्र कहिँकतै अरु कुनै जनावरको नामोनिशान थिएन । कहि ँटाढा कोइली र न्याउलीले भाका हालेर गाएको प्रतिध्वनी सुनिन्थ्यो । खाली भागहरुबाट तुवाँलोहरु छिरेका थिए जुन दृश्यले हामिलाई हरर मुभिको दृश्यहरु सम्झाउँदै थियो ।

घाम नलागे पनि दोस्रो दिन पानी भने परिहालेको थिएन । हामीले यात्राको भरपुर मनोरञ्जन लिइरहेका थियौं । कतै कथा भन्ने कतै गीत गाउने , कतै आफुले महसुस गरिरहेको अनुभुतिहरु सेयर गर्ने । फोनमा नेटवर्क नभएकोले मोबाइलको प्रयोग निक्कै कम भइरहेको थियो , जस्ले गर्दा नि त्यो समय जीवन्त महसुस भइरहेको थियो ।
सहर छोडेर दाजै बिकट ठाउँमा कसरी अडिरहनुभएको होला ? मेरो दिमागमा प्रश्न थियो। डेढ दशक जति धरानमा रहेर अध्ययन पूरा गरि कलेजमा अध्यापन गराइरहनुभएको दाजै सहरलाइ चटक्कै छोडेर गाउँ फर्केर भेडा पालन गर्ने सुरसार गर्दै गर्दा मसँग धेरै प्रश्नहरु थिए । दाजैले त्यो समय भन्नुभएको थियो, सिम्मा हामी सहर ज्ञानआर्जन गर्न जान्छौं तर हामिले हामी जन्मेहुर्केको ठाउँलाइ माया मार्नुहुन्न । यहाँको ढुङ्गामाटो , प्रकृतिको ऋण चुकाउनुपर्छ । दाजैको कुरा जायज थियो , तर समय सहरमुखी भईरहँदा सहर छोडेर चटक्कै गाउँ आएर नयाँ पेशा अपनाउनु चुनौतिपूर्ण नै थियो । यो मलाई थाहा थियो । तर मैयुङको यात्रामा निस्केपछि लाग्दै थियो प्रकृतिसँगको सामिप्यताले कति जीवन्त महसुस गराउँदोरहेछ । हामी जीवित मात्र रहेछौं भने दाजै जीवन्त महसुस गरेर बाँचिरहनुभएको रहेछ ।

हाङ्गमा कुवा

पदमार्र्गको कुनामा एउटा ढुङ्गे कुवा रहेछ जसलाइ संरक्षण गरिएको रहेछ । उक्त कुवाको नाम “हाङ्गमा कुवा” रहेको दाजैले बताउनुभयो । कुवासँग जोडिएको रोचक किंवदन्ती हामीलाई सुनाउनुभयो । किंवदन्ती अनुसार, परापूर्व कालमा किराती राजाहरु त्यो ठाँउ वरपरको जङ्गलमा शिकार खेल्न आउँथे रे । राजा र उनी निकट मान्छेहरु शिकार खेल्न जाँदा खाना बनाउने काम सहयोगीहरुको हुन्थ्यो । त्यही समयमा रानीले हाङ्गमा कुवा बनाउन लगाएको रे ।

अन्तत : मैयुङ्र
मैयुङ –अल्टिच्युड तीन हजार तीन सय ३३ मिटर
(जुन मुन्धुम पदमार्गको बीचमा अवस्थित छ । जहाँबाट आठ हजार भन्दा माथिको ६ ओटा हिमाल देख्न सकिन्छ ।)

   बलौटे भन्ज्याङ्गबाट लगभग चार घण्टाको सुस्त हिँडाईपछि हामी मैयुङ पुग्यौं । तर हामी त्यहाँ पुग्दा तुवाँलोले पाँच मिटर परको कुनै चिज समेत देखिने अवस्था थिएन । हामी दुःखिद् थियौं । दुर्ई दिन हिँडेर गन्तब्यमा पुग्नु अनि मौसमको कारण कुनै दृश्य नदेखिनु कति दुःखद् हुनसक्छ ? एक्कासी थकाईले चरम रुप लिएको अनुभव भयो । थकित गोडाहरु झन्झनाएको महसुस हुन लाग्यो । जसलाइ डो¥याउँदै हामी डाँडाबाट ओरालो लाग्यौ । ओरालो झर्ने क्रममा हावा चल्न सुरु भयो । हावासँगै उडेर तुवाँलो अरुतिर मोडियो र दिन खुल्यो । हाम्रो आँखा अगाडी आँखाले नभ्याउनेगरी फैलिएका थिए हरिया चौरहरु , ठाउठाउमा स–साना चौरका थुम्काहरु, परपर चरिरहेका चौंरी र भेडाहरु । हामी अवाक थियांै, मैयुमको सौन्दर्यता देखेर । खुशीले हामी खुट्टाको दुखाई बिर्सेर चौरमा कुद्न थाल्यौं ।

साँझ पर्दै गर्दा क्षितिजको रङ्ग बद्लदै थियो । भेडा र चौरीहरु बासस्थान फर्र्कँदै थिए । मैयुङमा बादल लाग्ने–खुल्ने भइरहेको थियो । हामी फेरि भोलि घुम्ने योजनाको साथ होमस्टेतिर लाग्यौं । मौसम प्रतिकुल बन्दै गएकाले होमस्टेमा धेरै पर्यटकहरु थिएनन् । निक्कै चिसो महसुस भएकोले कफि पिउने कुरा भयो । दुर्भाग्य होमस्टेमा कफि सकिएको रहेछ । त्यतिबेला घरमा भएको कफिलाई मिस गरिरह्यांै । वाइवाइको सुप र मकै खाएसी ज्यान तातियो त्यसपछी विश्राम लियौं । भोलिपल्ट दिन खुल्नुपर्छ भन्ने हामी सबैको कामना थियो । हामी घरिघरी आकाशतिर हेर्दै थियौं । जुन उदाइसकेको हुनाले भोलि दिन खुल्नेछ भन्ने कुरामा बिश्वस्त थियौ । खाना खाइसकेपछि अनिसा, ज्योती र सनम बाइनोकुलरले जुनको वरिपरि रहेको ताराहरुको संख्या पालैपालो गन्दै थिए । रातसगै चिसो बढ्दै गएपछि हामी भित्र छिरेर सुत्यौं ।

अर्कोदिन बिहान सबेरै निन्द्रा खुल्यो । मौसम अपेक्षित रुपमा चिसो नै थियो । हामी घामको प्रतीक्षामा थियौं । झोलाबाट नोटबुक निकालेर जुनु केही लेख्दै थिईन । सायद दैनिकी थियो । तराईको कथा बोकेर नयनराज पाण्डेको जियरा हामीसँगै पुर्बी पहाडको यात्रामा निस्किएको थियो । जसलाई मैले झोलाबाट निकालेर केही पाना पल्टाएँ । पढेँ । बादलभित्रबाट घाम निस्कन निकै प्रयास गरिरहेको थियो । चिया र बिस्कुट खाएर हामी होमस्टेको ठीक माथिको सबैभन्दा अग्लो डाँडा निस्किएर वरपरको दृश्यावलोकन गर्न लाग्यौं ।


तलतिर पदमार्ग हुँदै साल्पा ,सिलिचुङ्ग जानेहरुको संख्या बाक्लो थियो । भेडा र चौंरीहरु चौरमा चर्दै थिए । डाँडामा निक्कै हावा चलिरहेको थियो । मैयुङमा एकापट्टी बादल लाग्ने अर्कोपट्टि खुल्ने भइरहेको थियो । तर परपरको हिमालहरुलाई भने बादलले पुरै छोपेको थियो । जसले हामीलाइ हिमाल देख्नबाट बञ्चित गरायो । डाँडामा पालैपालो फोटो खिच्ने, केही समयको नाचगान÷रमाइलोपछि फिर्ने कुरा भयो । दिन राम्रोसँग नखुलेको र अझ मौसम प्रतिकुल बन्दै गएकोले हामी मैयुङ पुगेको भोलिपल्टै फर्कन उचित ठान्यौं । त्यति टाढा र त्यति उचाइमा पुगेर नि हिमाल देख्न नपाउनु र राम्रोसँग सुर्योदय भएको हेर्न नपाउनुको दुःख छँदै थिए । त्यस्को अलवा हामीले यात्राको भरपुर आनन्द उठाएका थियौ ।

घर फिर्ता

हाम्रो हिँडाइ सुस्त थियो त्यसमाथि बाटोमा रमाइलो गर्दै हिँड्ने भएकोले हामीलाई घर फर्कन पुरापुर दुई दिन लाग्ने थियो । बाटोका कठिनाइहरु छँदै नै थिए । खुट्टाको जोर्नीहरु पहिलो दिनजस्तो हिँड्नको लागि उत्सुक थिएनन् । तर हामीलाई घर फर्कनु थियो । घर, भौतिक चिज हो यहाँ हरेक चिज भौतिक नै हुन्छ । तर घरसँग जोडिएको हरेक चिजसँगको सम्बन्ध सधै भावनात्मक हुन्छ÷हुनुपर्छ । नभए घर, घर रहँदैन। त्यही भावनात्मक बन्धनले गर्दा संसारको जुनसुक्कै सुन्दर ठाउँ पुगेर जीवनको अनेकौं आयामहरु नियालेर नि मानिसले अन्तमा घर सम्झन्छ ्र घर फर्कंन्छ ।

होमस्टेमा पुगेर खाना खाएपछी हामी फर्कन तयार भयांै । मैयुम छोड्नुपर्दा पाईलाहरु भारी हुँदै थिए । पाइला अगाडी बढिरहेनी मन त्यही छुटेको महसुस भईरहेको थियो । हामी पटक–पटक पछाडी फर्केर हेर्दै अगाडी बढिरहेका थियांै । त्यतिबेला म प्रण गर्दै थिए, म फेरि आउनेछु मैयुङ । जुन समय निलो आकाश बिना सङ्कुचन फैलिएको हुनेछ । हिमाल हाँसेको हुनेछ र ती घना जङ्गलहरुमा राताम्य गुराँस फुलेको हुनेछ, जसलाइ देखेर मेरो ओँठमा सुनखरी फुल्नेछ ।
                                                        [email protected]
                                    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मी ।