माघ–१३, खोटाङको चिसापानी गाविसका समुदाय सबै वडामा मोटर बाटो पु¥याउने अभियानमा लागेका छन् । गाउँमा यातायात सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ गाविसका ९ वटै वडाका समुदाय कम्मर कसेर मोटर बाटो बिस्तार गर्ने अभियानमा जुटेका हुन् । 
स्थानीयबासीको क्रियाशीलतामा गाबिसका ९ वटा वडामध्ये हालसम्म ८ वटा वडामा मोटर बाटो बिस्तार भइसकेको चिसापानी–घोरेडाँडा कृषि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर खड्काले बताउनुभयो । बाँकी रहेको चिसापानी–९ छेतुवामा पनि ग्रामिण सडक बिस्तारको काम शुरु गरिएको अध्यक्ष खड्काको भनाइ छ । चिसापानी बजारलाई जिरोप्वाइन्ट मानेर स्थानीयबासीले प्रतिघर ५ हजारका दरले रकम संकलन गरी सडक बिस्तारको काम थालेका हुन् । 
करिब ५ लाखको लागतमा पूरा गरिने अनुमान गरिएको सडकले वडाका १०६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ । स्क्याभेटरको प्रयोग गरी २ हजार ५ सय मिटर लामो सडक मध्ये हालसम्म १ हजार ५ सय मिटर सडकखण्ड निर्माण गरिसकिएको छ । 
सडक निर्माणका लागि जम्मा भएको रकममध्ये हालसम्म ४ लाख १० हजार खर्च भइसकेको समितिले जनाएको छ । आफ्नो गाउँमा उत्पादन हुने अलैंची, सागपात, तरकारी, फलफुल, चामल, ढुंगा, वन पैदावर काठपात निकासी गर्नकालागि मोटर बाटो बिस्तारमा लागिएको स्थानीय शिक्षक कपिलराज घिमिरेले बताउनु भयो । छेतुवा यस गाबिसकै सबैभन्दा उव्जाउ हुने ठाउँ मानिन्छ । 
चिसापानी बजारका व्यवसायी तथा कर्मचारीहरुले छेतुवामै उत्पादन भएको तरकारी, सागसव्जी, लोकल चामल लगायतका उपभोग्य सामान उपभोग गर्दैआएका छन् । छेतुवामा मोटर बाटो बिस्तार भएपछि चिसापानी गाबिसका सबै वडा सडक सञ्जाल पुगेको गाविस बन्ने स्थानीय उत्तम चौलागाँइले जनाएका छन् । 
छिमेकी जिल्ला भोजपुरको यूँ गाविसबाट डम्बर्खुशिवालयको भञ्ज्याङखर्क र काहुले हुँदै चिसापानी बजार जोडेको सडकलाई छुवाएर चिसापानी–छेतुवा कृषिसडक निर्माण थालिएको हो । हाल यूँ गाबिसबाट चिसापानीको जिरोप्वाइन्टसम्म नियमितरुपमा यातायात सेवा सञ्चालन हुँदै आएको छ । छेतुवाबाट चिसापानीको जिरोप्वाइन्ट जोड्ने सडक बनेपछि गाउँमा उत्पादन भएको कृषिजन्य थोकबस्तु भोजपुर–धनकुटाहँुदै धरान निर्यात गर्ने बाटो खुलेको शिक्षक घिमिरेले जानकारी दिनुभयो ।