माघ १८ । नेपाली काग्रेस खोटाङमा भाडभैलो मच्चिएको छ । क्षेत्र नं–२ को रिक्त सभापति पदमा जिल्ला सभापति विष्णुकुमार राईले एकल रूपमा तीर्थ भट्टराईलाई विधान विपरित मनोनयन गरेपछि भाडभैलो शुरु भएको हो ।

पार्टीको विद्यान बिपरित क्षेत्रीय सभापति चयन गरिएको बिरोधमा एक जना जिल्ला सदस्यले राजीना समेत दिएका छन् । चिसापानीमा आयोजना गरिएको दुई दिने क्षेत्रीय भेलाबाट विधि र विद्यान बिपरित क्षेत्रीय सभापति चयन गरिएको बिरोधमा कांग्रेसका जिल्ला सदस्य एवं संगठन विभागप्रमुख भूपेन्द्र राईले पदबाट राजीनामा दिएका हुन् ।

संविधानसभाको दोश्रो निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार दिएको आरोपमा क्षेत्र नम्बर–२ का सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासित भएपछि रिक्त रहेको पदमा विधि र विधान बिपरित पदाधिकारी चयन गरिएका कारण राजीनामा दिएको जिल्ला सदस्य राईले बताउनुभयो । जिल्ला सभापति बिष्णुकुमार राईले पार्टीको विधि र विद्यानलाई लत्याउँदै तिर्थ भट्टराईलाई क्षेत्रीय सभापतिकारुपमा चयन गरेको जिल्ला सदस्य राईको आरोप छ ।

क्षेत्रीय समितिको बैठकले ६ महिनाकालागि कार्यबाहक सभापति चयन गर्न सक्ने वा जिल्ला कार्य समितिमार्फत बोलाइने क्षेत्रीय अधिबेसनले मात्र क्षेत्रीय सभापति चयन गर्न सक्ने उहाँको तर्क छ । पार्टीको बिधि र विद्यानका पक्षमा लड्नकालागि पदबाट राजीनामा दिइएको राईले बताउनुभयो । पार्टीको केन्द्रीय निर्बाचन समितिले जिल्ला कार्य समितिलाई बैठक बस्न र क्षेत्रीय अधिबेसन बोलाएर र पद पुर्तीकालागि माघ ३ गते दिएको ठाडो निर्देशनलाई ठाडो उल्लंघन गरिएको राईको भनाइ छ ।
आगामी फागुन–७ गते क्षेत्रीय अधिबेसन बोलाउने निर्णयसहित हलबाट गाउँ सभापतिहरु गाउँ फर्कीसकेपछि कार्यक्रम समापनको बेलामा जिल्ला सभापतिले क्षेत्रीय सभापति चयन गरेको राईले बताउनुभयो ।

भेलामा सहभागी कांग्रेसका जिल्ला सदस्य प्रेमकुमा राईले भने सबैको सहमती र सहकार्यमा क्षेत्रीय सभापति चयन गरिएको बताउनुभयो । ‘हलमा उठेको कार्यकर्ताको आवाजलाई सम्बोधन गरिएको हो,’ सदस्य राईले भन्नुभयो, ‘पार्टीको विद्यानलाई लत्याउने काम गरिएको हैन ।’ स्थानीय निकायको निर्वाचन आउँदैगर्दा क्षेत्रीय समितिलाई अपुरो राख्न नहुने कार्यकर्ताको दवावका कारण क्षेत्रीय समितिलाई हलबाटै पूर्णता दिनुपरेको राईको भनाइ छ ।

कांग्रेसको सिमपानीमा सम्पन्न क्षेत्रीय भेलाले रिक्त क्षेत्रीय सभापतिमा तिर्थराज भट्टराई, उपसभापतिमा पर्शुराम राई, सचिवमा युवराज तामाङ र तारामान राईलाई चयन गरेको छ । बागी उम्मेदवार दिएको आरोपमा तत्कालिन क्षेत्रीय सभापति विष्णुराज राई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट ५ वर्षका लागि निष्कासित भएपछि क्षेत्रीय भेलामार्फत क्षेत्रीय समितिलाई पूर्णता दिइएको कांग्रेसले जनाएको छ ।