माघ–१८ । मकैको बीउ उत्पादन केन्द्र स्थापनाको पहल थालिएको खोटाङको हलेसी र दुर्छिममा यस वर्ष १५ मेट्रिक टन मकैको बीउ उत्पादन भएको छ । कृषि विकास कार्यालय खोटाङको ‘मकै बृज वृद्धि कार्यक्रम’ सिमिट अन्तरगत पश्चिमी गाविस हलेसी र दुर्छिममा देउती र मोनो–३ जातको मकैको १५ मेट्रिक टन बीउ उत्पादन भएको हो ।

मकैको बीउ उत्पादन केन्द्र स्थापनाको तयारी भइरहेको दुर्छिममा यस वर्ष देउती जातको ५ मेक्ट्रिक टन र हलेसीमा मोनो–३ को १० मेक्ट्रिक टन मकैको बीउ उत्पादन भएको कृषि सेवा केन्द्र हलेसीका प्राबिधिक सहायक शिवानन्द मिश्रले बताउनुभयो । जिल्लाका किसानकालागि आवश्यक पर्ने मकैको बीउ जिल्लामै उत्पादन गर्ने उद्धेश्यकासाथ कृषि विकास कार्यालयले हलेसी–२ र ३ को १० हेक्टर र दुर्छिम–१ सालतेम्माको ५ हेक्टर क्षेत्रफलमा देउती र मोनो–३ जातको मकैको बीउ उत्पादन गर्दै आएको छ ।

छानिएको, शुद्ध र परिक्षण गरिएको मकैको बीउलाई मात्र खरिदगरि कृषि वा अन्य संघसंस्थामार्फत जिल्लाका अन्य किसानहरुमाझ पु¥याईने प्राविधिक सहायक मिश्रले जानकारी दिनुभयो । यस वर्ष उत्पादन भएको मकैको बीउको उत्पादन क्षमता परिक्षणकालागि सुनसरीको झुम्का पठाइएको र परिक्षणपछि बीउ उत्पादन समितिले मूल्य निर्धारण गर्ने मिश्रको भनाइ छ ।

वार्षिक प्रतिहेक्टर ३ मेट्रिक टनका दरले उत्पादन हुने मकैको बीउलाई लेकाली क्षेत्रबाहेक औल क्षेत्रमा छर्नकालागि प्रयोग गर्न सकिने कृषि कार्यालयले जनाएको छ ।

यसैबीच, कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले पनि दिक्तेल र लफ्याङमा मध्य पहाडकालागि उपयुक्त मानिने मनोकामना–३ र उच्च पहाडकालागि उपयुक्त मानिने गणेश–१ जातको मकैको बीउ उत्पादन गर्दै आएको छ । ईको हिमाल र पहाडी मकै अनुसन्धान केन्द्रले उत्तरी गाविस बाकाचोल र महेश्वरीमा उन्नत जातको मकैको बीउ उत्पादन गरिरहेको छ ।

जिल्लाको खाद्य सुरक्षामा टेवा पु¥याउने उद्धेश्यकासाथ बाकाचोल र महेश्वरीका स्थानीय कृषक समुहमार्फत १५ सय मिटरभन्दा माथिको उच्च पहाडी भूभागका लागि उपयुक्त गणेश–१ र मनोकामना–३ जातको मकैको बीउ उत्पादन गर्दै आएको छ ।