माघ–२०, अंग्रेजी भाषा शिक्षणलाई प्रभावकारी बनाउनका लागि खोटाङमा विषयगत समिति गठन गरिएको छ । जिल्लाका मावि तथा निमावि तहका ६२ जना अंग्रेजी शिक्षकहरुको भेलाले जिल्लामा पहिलोपल्ट गोपाल बस्नेतको अध्यक्षतामा समिति गठन गरिएको हो । 
अंग्रेजी शिक्षणकाक्रममा आएका समस्य समाधान गर्न र सामुहिकरुपमा शैक्षिक योजना बनाउनका लागि अंग्रेजी विषयको विषयगत समिति गठन गरिएको अंग्रेजी विषयगत समितिका सदस्य देबकुमार राईले जानकारी दिनुभयो । समितिले नयाँ विधि, प्रविधि र सीप अपनाएर अंग्रेजी विषयलाई प्रभावकारी बनाउनका लागि जिल्लाका अंग्रेजी शिक्षकहरुलाई एक ठाउँमा भेला भएर सामुहिकरुपमा छलफल गर्ने र अनुभव आदानप्रदानको वातावरण सिर्जना गर्ने सदस्य राईको भनाइ छ । ‘अब नयाँ शैलीबाट अंग्रेजी बिषयको पठन–पाठन गराउन जरुरी बनेको छ,’ शिक्षक राईले भन्नुभयो, ‘अंग्रेजी शिक्षणकाक्रममा आउने समस्यलाई पहिचान गर्दै समाधानका लागि समितिको सोच बनाएका हौँ ।’ 
अंग्रेजी विषयका शिक्षकहरुको पाँच दिने पेशागत विकास तालिम टिपिडि समापनको अवसरमा जिल्लामा अंग्रेजी विषयको विषयगत समिति गठन गरिएको हो । समितिका उपाध्यक्षमा कृष्णप्रसाद घिमिरे, सचिवमा रबिन सुनुवार, सहसचिवमा ललित राई र कोषाध्यक्षमा अञ्जु बस्नेत चयन हुनुभएको छ । जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे र बरिष्ठ प्रशिक्षक माधव राईको उपस्थितिमा समिति गठन गरिएको हो । 
यसैबीच, जिल्लामा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को तदर्थ समिति पनि गठन गरिएको छ । शिक्षक गोपाल बस्नेतको अध्यक्षतामा १३ सदस्यीय अंग्रेजी भाषा शिक्षक संघ नेल्टाको तदर्थ समिति गठन गरिएको हो । समितिका पदाधिकारीहरुमा अंग्रेजी विषयको बिषयगत समितिकै पदाधिकारीहरु आवद्ध छन् ।