फागुन–१२ । सम्पत्ती विवरण नबुझाउने खोटाङका ३ सय भन्दा बढि शिक्षक कारबाहीमा परेका छन् । तोकिएको समयभित्र आफ्नो सम्पत्ती विवरण नबुझाउने खोटाङका ३ सय ५१ शिक्षक कारबाहीमा परेको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ ।
सम्पत्ती विवरण नबुझाएका शिक्षकलाई प्रतिव्यक्ती ५ हजारका दरले जरिवानामा परेको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले बताउनुभयो । जिल्लामा २ हजार २ सय शिक्षक कार्यरत छन् ।
विद्यालय शिक्षक किताब खानामा गत भदौ २८ गतेभित्र सम्पत्ती विवरण नबुझाएकामा उनीहरु कारबाहीमा परेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयले भदौ २० गतेभित्र जिल्लाका शिक्षकलाई सम्पत्ती बिवरण बुझाउन समय दिएको थियो ।
प्रत्येक शिक्षकले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सम्पत्ती बिवरण अनिवार्य बुझाउनुपर्ने नितिको व्यवस्था छ । सम्पत्ती विवरण नबुझाउने शिक्षकलाई पत्र पाएको ३० दिनभित्र प्रतिव्यक्ती ५ हजारका दरले जरिवाना रकम सहित सम्पत्तीको बिवरण बुझाउनकालागि पत्राचारको तयारी गरिएको शाखा अधिकृत थापाको भनाइ छ ।
तोकिएको समयमा जरिवाना रकम र सम्पत्ती बिवरण नबुझाउने शिक्षकको तलवबाटै जरिवाना रकम उठाइने कार्यालयले जनाएको छ । जरिवानामा परेका ३५१ शिक्षकबाट १७ लाख ५५ हजार राजश्व संकलन हुने शाखा अधिकृत थापाले बताउनुभयो ।