फागुन–१६, हलेसीको दर्शन गरेर घर फर्कने क्रममा जीप दुर्घटनामा परी खोटाङमा एक जनाको घटना स्थलमै ज्यान गएको छ भने, सात जना घाइते भएका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसीमा शिवरात्रीको अवसरमा लाग्ने मेला भरेर घर फर्कने क्रममा बाहुनीडाँडा–१ बयाक्तास्थित सडक खण्डमा बा८च १६११ नम्बरको जीप दुर्घटना हुँदा मोरङको कसेनी–६ बस्ने ७१ वर्षीया कमला बस्नेतको घटना स्थलमै ज्यान गएको छ भने अन्य ७ जना घाइते भएका छन् ।

दर्शन गरेर घर फर्कनेक्रममा शुक्रबार बिहान करिब सात बजेको समयमा दुर्घटना हुँदा कमलाकी श्रीमान ७३ वर्षीय लोकबहादुर बस्नेत, सोही स्थानका २८ वर्षीय सन्देश खत्री र २५ वर्षीया सुजा खत्री, इटहरी–५ की ५२ वर्षीया लक्ष्मी परियार, ३५ वर्षीया रमा खड्का, २५ वर्षीया सुनिता श्रेष्ठ र धरान–१५ की जानुका निरौला घाइते भएका छन् ।  घाइतेमध्ये कमलाको श्रीमान लोकबहादुर बस्नेतको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । सडक माथिबाट खसेको पहिरोमा जीप क्रस गराउन खोज्दा अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने च्यास्मिटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सत्तुरधन राउतले बताउनुभयो । उहाँका अनुसार जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनको समेत टाउकोमा चोट लागेको जनाइएको छ ।

अन्य दुई जनाको अवस्था भने, समान्य रहेको प्रहरीले जनाएको छ । नौं जना सवार रहेको जीप सडकबाट झण्डै ६० फिट तल खसेको थियो ।