फागुन–२४, जेठाजु र देउरानीको कुटाइबाट हात भाँचिएकी खोटाङकी एक महिलाले वर्ष दिन बित्दा समेत न्याय पाएकी छैनन् । गत वर्षको फागुन–१९ गते जेठाजु पदम राई र देउरानी निर्मला राईको कुटाइबाट हात भाँचिएको सल्ले–९ की रामशोभा राईले अझै न्याय नपाएकी हुन् ।
कुटपिटमा परेको तीन दिनपछि घटनाको विषयमा गत वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको दिन प्रहरीसमक्ष मुद्दा दर्ता गरिएपनि पीडकलाई कारबाही तथा पीडितलाई क्षतीपूर्ती प्राप्त नभएको पीडित महिलाकी भाइ डम्बर राईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘राजनीतिक आडमा वर्ष दिनसम्म न्याय नपाएपछि महिला दिवसकै दिन पुनः न्याय खोज्न सदरमुकाम ल्याएर आएका हुँ ।’
एकल जीवन बिताइरहेकी रामशोभाको कुटपिटबाट दाहिने हात भाँचिएको थियो । घाँसको विषयमा भएको सामान्य विवादका क्रममा पदम र निर्मलाले रामशोभालाई बाँसको भाटाले कुटपिट गरेको भाइ डम्बरको भनाइ छ ।
सदरमुकाम दिक्तेलमा शनिबार मनाइएको १०४ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा आइपुगेकी पीडित रामशोभाले वर्ष दिनसम्म न्याय नपाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उपचारका क्रममा लागेको ऋण तिर्न नसकेपछि साहुले घरबार खोस्ने अवस्था आएको छ ।’
आर्थिक अभावमा हातमा राखिएको स्टील अझै झिक्न नसकेको पीडित रामशोभाले सुनाउनुभयो । दुई छोराको लालनपालन र पठनपाठनमा समस्या आएको राई परिवारको भनाइ छ ।
पीडितका अनुसार कुटपिटमा संलग्न पदमलाई प्रहरीले १२ दिन नियन्त्रणमा राखेर सामान्य धरौटीमा छाडेको थियो । एमालेका गाउँ तहका नेताहरुको दवादमा पीडकलाई कारबाहीबाट उन्मुक्ती दिइएको पीडित परिवारको भनाइ छ ।
उता, उक्त मुद्दा फैसलाको प्रक्रियामा रहेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जुन सुकै पार्टीको व्यक्ति भएपनि कारबाहीको भागीदार हुनुपर्छ ।’