फागुन–२७, ज्यान मारेको अभियोगमा खोटाङको पाथेका गाविसका ३७ जना पक्राउ परेका छन् । पाथेका–४ का १८ वर्षीय एलिस भनिने अजय राईको हत्या गरेको अभियोगमा स्थानीय गणेश गिरी लगायत ३७ जना पक्राउ परेका हुन् ।
राईले स्थानीयलाई दुःख दिएको भन्दै हात खुट्टा भाँचेर प्रहरीलाई बुझाउने निर्णय गरेर सुक्रबार कुटपिट गरेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पटक–पटक दुःख दिइरहने भएकाले उनको अत्याचार खेप्न नसकेपछि निर्णय गरेरै कुटपिट गरेका रहेछन्, कुट्दा–कुट्दै मरेछ ।’ साहका अनुसार कुटपिट गर्ने सबैलाई पक्राउ गरिएको छ । यसमध्ये तीन महिला रहेका छन् ।
पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको मुद्दा फाँटका प्रहरी नायक निरीक्षक यादव गौतमले बताउनुभयो ।