फागुन–२७, अण्डा उत्पादनका लागि खोटाङमा पहिलो पटक लेयर्स जातको कुखुरा पालन सुरु गरिएको छ । सदरमुकाम दिक्तेलस्थित कालिका कृषि सहकारी संस्था लिमिटेडले जिल्लामै पहिलो चोटी अण्डा उत्पादन गर्न कुखुरा पालन सुरु गरेको हो । 
सहकारीका अध्यक्ष सुवाश जोशीका अनुसार आगामी भदौ पहिलो सातादेखि अण्डा उत्पादन गर्ने योजना बनाइएको छ । सहकारीको जम्मा छ लाख ७० हजार र जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको पाँच लाख ६० हजार गरी १२ लाख तीस हजार रूपैयाँ लगानी भएको छ । 
नारायणघाटस्थित अबिनाश ह्याचरीबाट प्रतिगोटा एक सय ५२ रूपैयाँले चल्ला खरिद गरिएको जोशीले बताउनुभयो । यसबाहेक ढुवानीका लागि प्रति गोटा २५ रूपैयाँ खर्च भएको छ ।
यातायात समस्याले जिल्लामा ताजा अण्डा उपभोग गर्न नपाएपछि अण्डा उत्पादनका लागि फर्म सञ्चालन गरिएको अध्यक्ष जोशीले बताउनुभयो । उनका अनुसार दैनिक नौ सय अण्डा उत्पादन गर्ने लक्ष्य राखिएको छ । 
जिल्लामा झण्डै ७५ हजार रूपैयाँको अण्डा बाहिरबाट आयात गरिन्छ । बाहिरबाट आयात गरिएको अण्डा हल्लिनुका साथै बाटोको समयसहित लामो समयसम्म राखिने भएकाले छिटै बिग्रेर जाने वरिष्ठ पशु विकास अधिकृत तथा जिल्ला पशुसेवा कार्यालय खोटाङका प्रमुख नारायणबहादुर श्रेष्ठले बताउनुभयो । उनका अनुसार सात दिनसम्मको अण्डा खान योग्य हुन्छ । 
त्यसभन्दा बढी समयसम्मको अण्डा खानयोग्य नहुने श्रेष्ठले दावी गर्नुभयो । उहाँले भन्नुभयो,–‘सात दिनभन्दा बढीको अण्डा खानयोग्य हुदैन, त्यस्तो अण्डा खाने÷नखाने उपभोक्ताले बुझ्नु पर्छ ।’