चैत–४, खोटाङको डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायिक वनमा डढेलो लागेपछि स्नाथीयबासी जोखिममा परेको छ । पुरै गाउँभरी फैलिएको उक्त सामुदायिक वनमा एक्कासी डढेलो लागेपछि गाउँ नै जोखिममा परेको हो ।
सोमबार दिउसो करिब साँढे दुई बजेतिर वडा नम्बर–५ र ७ को सिमानाबाट शुरु भएको डढेलो वडा नम्बर–५, ६, ७, ८ र ९ मा फैलिएकाले गाउँ नै छाडेर हिड्नुपर्ने अवस्था आएको स्थानीय गणेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार चार सय नौं हेक्टर क्षेत्रफल रहेको उक्त वनको सबै क्षेत्रमा डढेलो फैलिएपछि वडा नम्बर–५ मा पर्ने मगर गाउँ उच्च जोखिममा परेको छ ।
चारैतिरबाट आगो सल्किएकाले १०÷१५ घर रहेको उक्त मगर गाउँ उच्च जोखिममा परेपछि स्थानीयबासी र प्रहरीको टोली त्यसतर्फ खटिएका छन् । घिमिरेका अनुसार डढेलो लागेको ठाउँ घरबाट करिब सय मिटर मात्र टाढा रहेको छ ।
डढेलो नियन्त्रणका स्थानीयबासी र प्रहरी चौकी डुम्रेधारापानीका प्रहरी सहायक निरीक्षक धनलाल श्रेष्ठको टोली खटिएपनि नियन्त्रणमा आउन गाह्रो हुने घिमिरेको भनाइ छ । डढेलोले हालसम्म मानवीय क्षती नगरेपनि वन्यजन्तु तथा वनस्पती भने पुरै सखाप पारेको छ ।
डढेलोले बहुमूल्य जडीबुटी, वन पैदावार र वन्यजन्तु सखाप पार्दा करोडौंको क्षति भएको अनुमान गरिएको छ । उक्त वनमा बाघ, मृग, घोरल, खरायो, सालक, मयुर, कालिज, प्युरालगायतका वन्यजन्तु तथा पशुपन्छी बस्ने गरेका थिए ।