चैत–५, खोटाङमा अपराधी छुटाउन सभासदको दबाब परेको खुलासा भएको छ । अर्गेली र अल्लोको लोक्ता बोकेर काठमाडौं जादै गरेको मालवाहक गाडी रोकेर रकम असुल्दै गर्दा पक्राउ परेका सात जनालाई छुटाउन खोटाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सभासद पा“चकर्ण राईले प्रहरीलाई दबाब दिएको खुलासा भएको हो ।
राखावाङ्देलबाट काठमाडौं जाँदै गरेको तीन वटा मालवाहक ट्रक रोकेर रकम असुलेको आरोपमा १९ गते राती ११ बजे हलेसीमा पक्राउ परेका सात युवालाई छुटाउन सभासद राईले प्रहरी कार्यालय पुगेर विदामा जनकपुर घर पुगेका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहलाई टेलिफोन मार्फत दबाव दिएको प्रहरीले स्रोतले जनाएको छ । पक्राउ परेकालाई नछोडे सदन र मन्त्रालयमा कुरा चलाउने धम्की समेत दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।
सभासद राईको धम्कीप्रति प्रहरी संगठन दुःखी बनेको एक अधिकारीको भनाइ छ । मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसीमा फागुन–१९ गते राती ११ बजे गाडी रोकेर रकम लिने क्रममा महादेवस्थान–४ का २५ वर्षीय सुवाश राई, २२ वर्षीय दीपेन्द्र राई, १८ वर्षीय सन्तोश राई, दुर्छिम–४ का २१ वर्षीय सुरेश राई, १७ वर्षीय हरि राई, १८ वर्षीय पूर्ण राई र २७ वर्षीय पविन्द्र राई पक्राउ परेका थिए ।
सभासद राईले भने यो घटनाका मुख्य नाइके दुर्छिम–१ का रूपेन्द्र राईलाई पक्राउ नगरी सोझा युवाहरूलाई फसाइएको र उनीहरूको एसएलसी छुट्न लागेकाले अनुरोध मात्र गरेका बताउनुभयो । यसबारे प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले भनाभन भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सभासदज्यूले अलि चर्को स्वरमा बोल्नुभयो, मैले पनि त्यसै गरी जवाफ दिए, यो सामान्य कुरा हो, मैले त्यसरी नै बुझेको छु ।’
सभासदको दबाबपछि सातै जना सामान्य धरौटीमा छुटेका छन् । अर्गेली र अल्लोको लोक्ता बोकेर काठमाडौं जादै गरेको माल बाहक गाडी रोकेर रकम असुल्दै गर्दा पक्राउ परेका सात जनाबाट जनही दश हजार रूपैया“ धरौटी लिएर सार्वजनिक मुद्दामा मङ्गलबार छुटेका हुन् ।