चैत–५, खोटाङको डुम्रेधारापानीस्थित कालिका भगवती सामुदायिक वनमा लागेको डढेलो दुई दिनपछि स्नाथीयबासी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । सोमबार दिउसो वडा नम्बर–५ र ७ को सिमानाबाट शुरु भएको डढेलो स्थानीयबासी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । 
सोमबार दिउसो करिब साँढे दुई बजेतिर लागेको डढेलोले वडा नम्बर–५, ६, ७, ८ र ९ मा फैलिएको सामुदायिक वन पुरै सखाप पारेको स्थानीय गणेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार चार सय नौं हेक्टर क्षेत्रफल रहेको उक्त सामुदायिक वनको धेरैजसो क्षेत्र डढेलोले सखाप पारेको छ ।  
गाउँभरी फैलिएको उक्त सामुदायिक वनमा एक्कासी डढेलो लागेपछि गाउँ नै जोखिममा परेको थियो । दिउसो डढेलो लागेकाले मानवीय क्षति भने हुन नपाएको स्थानीयको भनाइ छ । 
डढेलो नियन्त्रणका लागि स्थानीयबासी र प्रहरी चौकी डुम्रेधारापानीका प्रहरी सहायक निरीक्षक धनलाल श्रेष्ठको टोली सोमबार दिउसोदेखि मंगलबार दिउसोसम्म खटिएका थिए । डढेलोले मानवीय क्षती नगरेपनि वन्यजन्तु तथा वनस्पती भने पुरै सखाप पारेको प्रहरी सहायक निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 
डढेलोले बहुमूल्य जडीबुटी, वन पैदावार र वन्यजन्तु सखाप पार्दा करोडौंको क्षति भएको स्थानीयबासीको अनुमान छ । उक्त वनमा बाघ, मृग, घोरल, खरायो, सालक, मयुर, कालिज, प्युरालगायतका वन्यजन्तु तथा पशुपन्छी बस्ने गरेका थिए ।