चैत–११, खोटाङको बाँझेच्यानडाँडा–५ का पदमबहादुर बुढाथोकी परिवारले छोरीको रहस्यमय मृत्यु भएको भन्दै पीडितलाई कारबाहीको माग गरेका छन् । याम्खा–१ बारलाङमा विवाह गरेकी छोरी प्रमिला खत्रीको गत कार्तिक १६ गते काग तिहारका दिन सहस्यमय मृत्यु भएको भन्दै बुढाथोकी परिवारले दोषीको पहिचान गरी कारबाहीको माग गरेको हो । 
सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गर्दै बुढाथोकी परिवारले छोरीको रहस्यमय मृत्युलाई आत्महत्या गरेको भन्दै टार्ने काम गरिएको दावी गरेको छ । झुण्डिएको अवस्थामा भेटिएको भनिएका प्रमिलाको मलद्धार तथा यौनाङ्गमा आत्महत्याको कुनै संकेत नभेटिनु, खुट्टाको चप्पल नखुस्किएको अवस्थामा भेटिनु, कोठामा फुटेको चुरा भेटिनु, घाँटीमा चोट देखिनु लगायतका कारण छोरीको हत्या गरिएको बाबु पदमबहादुर बुढाथोकीले दावी गर्नुभयो ।
कार्तिक १४ गते बेलुका माइत गएर भोलीपल्ट घर फर्किएकी प्रमिलाको हत्या गरिएको बुढाथोकी परिवारको भनाइ छ । मृतक प्रमिलाको बैसाख १८ गते याम्खाका खगेन्द्र खत्रीसँग विबाह भएको थियो । 
छोरीको हत्या गरिएको आशंकामा बुढाथोकी परिवारले प्रमिलाका ससुरा खड्गबहादुर खत्री र देउरानी हर्कमायाँ खत्रीबिरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । मुद्धा दर्ता गर्नेक्रममा प्रहरीले लामो समयसम्म आलटाल गरेको बुढाथोकीले गुनासो गर्नुभयो । 
प्रहरीले मृतकको भिसेराको रिपोर्ट आएपछि मात्र मुद्धा दर्ता गर्ने भन्दै पन्छिएको मृतककी आमा पदमकुमारी बुढाथोकीले बताउनुभयो । प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि हुलाकबाट समेत उजुरी हाल्नुपरेको बुढाथोकी परिवारको भनाइ छ । 
प्रहरीले मृतक परिवारलाई पोष्टमार्ट रिपोर्टमा झुण्डिएरै आत्महत्या गरेको जवाफ दिँदै आएको जनाइएको छ । मृतककी श्रीमान खगेन्द्र मलेसियामा छन् । कार्तिक १० गते पनि याम्खामा प्रमिलालाई विष हालेको खाना खुवाइएको पदमबहादुरले बताउनुभयो । प्रमिलाले गरेको वान्ता खाएको कुकुरा समेत मरेका कारण खानामा विष हालिएको हुनसक्ने बुढाथोकी परिवारको दावी छ ।