चैत–१२, नेकपा–माओवादी खोटाङले समाजमा हुने गुण्डागर्दी, जालसाँजी, सामन्ती तथा दलाललाई मास कारबाही गर्ने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा गुण्डागर्दी, जालीफटाहा, सामन्ती तथा दलालको विकास हुँदै गएको भन्दै उनीहरुलाई तह लगाउन मास कारबाही गर्ने निर्णय गरेको हो । 
पार्टीको प्रथम जिल्ला सम्मेलन सकिएलगत्तै बसेको पार्टीको पहिलो बैठकले यस्तो निर्णय गरेको जिल्ला सेक्रेटरी ध्रुब बुढाथोकी ‘धिरेन’ ले बताउनुभयो । उहाँले भन्नुभयो,–‘समाजमा अराजक गतिविधि गर्नेलाई समाज भेला गरेर उनीहरुकै अगाडि कारबाही गर्नेछौं ।’ उहाँ थप्नुभयो,– ‘हाम्रो पार्टीको एक घर एक सदस्य, एक टोल एक संगठन भन्ने नारासँगै यो कारबाहीको प्रक्रिया पनि अघि बढ्छ ।’
गत चैत्र–८ र ९ गते दुई दिनसम्म सञ्चालन भएको प्रथम जिल्ला सम्मेलनले ध्रुब बुढाथोकी ‘धिरेन’को नेतृत्वमा ३१ सदस्य नयाँ कार्यसमिति चयन गरेको थियो । पोलिटब्यूरो सदस्य तथा पुर्वी कमाण्ड ईन्चार्ज खड्बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले उद्घाटन गर्नुभएको सम्मेलनले प्रतापसिं राईको संयोजकत्वमा नौं सदस्यी सल्लाहकार समिति समेत गठन गरेको छ । 
यस्तै, सम्मेलनले क्षेत्र नम्बर–१ मा सोनाम किराती र २ मा सुनिललाई संयोजकको जिम्मेवारी दिएको छ ।