
खोटाङ असार–१०, नक्कली नागरिकता पेश गरेर सक्कली प्रतिलिपी लिन खोज्ने खोटाङका युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपी लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री पक्राउ परेका हुन् ।
२०६३ सालमा बनेको क्षेत्रीको ९१९६ उल्लेख भएको नागरिकता अर्कै व्यक्तीको नाममा रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले बताउनुभयो । क्षेत्रीले जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपी लिन खोजेको पाइएको छ ।
साबिकको ज्यामिरे गाबिस–९ ठेगाना भएको नागरिकताको फोटोकपीमा क्षेत्रीको जन्म मिती २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख रहेको प्रशासनले जनाएको छ ।