चैत–१७, खुकुरी प्रहारबाट जिल्ला अस्पताल खोटाङका महिला अहेव गम्भीर घाइते भएका छन् । खाल्ले ८ का २२ वर्षीय अशोक खतिवडाको खुकुरी प्रहारबाट अस्पतालमा कार्यरत १९ वर्षीय अहेव कबिता दाहाल गम्भीर घाइते भएकी हुन् ।

दिक्तेल ९ सोल्माकी अहेव दाहाललाई खतिवडाले अस्पतालको आकस्मिक कक्षमै गएर आइतबार दिउँसो खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट अहेव दाहालको घाँटी, टाउको र देब्रे हातमा गहिरो चोट लागेको छ ।
बेहोस अवस्थामा रहेकी अहेव दाहाललाई फिस्टेल एयरको हेलीकोप्टर मार्फत काठमाडौं लगिएको छ । वर्ष दिन अघिदेखिको प्रेम सम्बन्धलाई दाहालले अस्वीकार गरेका कारण खतिवडाले खुकुरी प्रहार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बतानुभयो । 
विवाहका लागि गरिएको प्रस्तावलाई अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण भएको खुलेको साहको भनाइ छ । खतिवडाले प्रेमीकाको हत्या गरेर आत्महत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ । 
‘उनीहरुबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक साहले भन्नुभयोे¬– ‘केटीले अर्कैसँग विवाह गर्ने कुरा गर्न थालेपछि उनीमाथि आक्रमण भएको खुल्न आएको छ ।’ 
घाइते दाहालको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले बताउनुभयो । डाक्टर झाका अनुसार दाहालको होस समेत गुमेको छ । 
खुकुरी प्रहार गर्ने खतिवडालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ । उनको साथमा रहेको झोलामा डोरी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।