चैत–१८, अहेव काटिएको बिरोधमा जिल्ला अस्ताल खोटाङको सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत अहेव कविता दाहाल कार्यकक्षमै काटिएपछि स्वास्थ्य क्षेत्रको ट्रेड युनियनहरूले सम्पूर्ण सेवा बन्द गराएका हुन् । 
आइतबार दिउसो आकस्मिक कक्षमा काम गरिरहेकी अहेव दाहाललाई खाल्ले–८ का २२ वर्षीय अशोक खतिवडा (केसी)ले खुकुरी प्रहार गरी घाइते बनाएको विरोधमा अस्पताल बन्द गरिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । घाँटी, टाउको र हातमा गहिरो चोट लागेको दाहालको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । 
काम गरिरहेकी सहकर्मीमाथि दिनदहाडै खुकुरी प्रहार भएपछि नेपाल स्वास्थ्यकर्मी हित संरक्षण मञ्च, राष्ट्रिय स्वास्थ्यकर्मी संघ तथा स्वास्थ्यकर्मी संघमा आबद्ध स्वास्थ्यकर्मीहरूले सेवा बन्द गराएपछि बिरामीहरु मारमा परेका छन् । जिल्लाको एक मात्र अस्पताल बन्द गरिएपछि टाढाटाढाबाट उपचारका लागि आएका बिरामीहरु मर्कामा परेका हुन् ।
यसैबीच, जिल्लास्थित विभिन्न कर्मचारी संघसंगठनहरूमा आबद्ध कर्मचारीहरूले दोषीलाई कारबाही, घाइतेलाई क्षतिपूर्ति र कार्यस्थलमा खटिएका कर्मचारीहरूको सुरक्षा हुनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसमक्ष ज्ञापन–पत्र बुझाएका छन् । सदरमुकाम जस्तो क्षेत्रमा समेत प्रशासनले शान्तिसुरक्षा दिलाउन नसकेको भन्दै उनीहरुले ज्ञापन–पत्र बुझाएका हुन् ।
विवाहका लागि गरिएको प्रस्तावलाई अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण भएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताउनुभएको छ । ‘उनीहरुबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक साहले भन्नुभयोे, ‘केटीले अर्कैसँग विवाह गर्ने कुरा गर्न थालेपछि उनीमाथि आक्रमण भएको खुल्न आएको छ ।’ 
केसीले प्रेमीकाको हत्या गरेर आत्महत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ ।