चैत–१८, कम्पनीको मलिक भागेपछि मलेसियामा अलपत्र परेका ८५ जना नेपालीको उद्धार गरिएको छ । कम्पनीको मालिक पासपोर्ट लिएर भागेपछि महिना दिनदेखि अलपत्र बनेका ८९ नेपालीमध्ये ८५ जनाको उद्धार गरिएको हो । 
सुरक्षित आप्रवासन परियोजना सामीको पहलमा शनिबार ३० र आइतबार ५५ जनालाई उद्धारगरि नेपाल फर्काउन सफल भइएको जनसेवा समाज नेपालद्धारा सञ्चालित सामीका खोटाङ कार्यक्रम संयोजक नबिन्द्र राईले बताउनुभयो । उहाँका अनुसार उद्धार गरिएकाहरु खोटाङ, भोजपुर, ओखलढुङ्गा, संखुवासभा, सिराहा, इलाम, रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुसा, मकवानपुर लगायत जिल्लाका हुन् । 
मलेसियाको सेरमान भन्ने ठाउँको सुमसाङ कम्पनीमा कार्यरत उनीहरु आफ्नै मालिकले पासपोर्ट सहितका सबै कागजात लिएर भागेपछि अलपत्र परेका थिए । अलपत्र परेको खबर पाएपछि उनीहरुको आफन्तले सदरमुकाम दिक्तेलस्थित परियोजनाको कार्यालयमा निवेदन दिएसँगै सामीले उद्धारको पहल थालेको थियो ।
निवेदन परेसँगै उनीहरुसँगको नाता प्रमाणितगरि कागजात पठाएपछि स्वदेश फर्किएका उनीहरुमध्य १८ जना भने, प्रवासी नेपाली समन्वय समितिको काठमाडौंस्थित उद्धार केन्द्रमा रहेको समितिका सीता पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘केही चाँही आफन्त कहाँ गए, यहाँ रहेकाहरुलाई पनि आफन्तकोमा जिम्मा लगाउने तयारी गरिरहेका छौं ।’
मालिक भागेपछि अलपत्र बनेकामध्य अधिकांश नेपालबाट रकम पठाएपछि स्वदेश फर्किएको खोटाङ बाम्राङ–८ का पीडित यादव थापाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘धन कमाउने आशामा विदेश पुगेका थियौं, मालिक भागेपछि ज्यानै फर्काउन गाह्रो भयो ।’
मालिक भागेपछि अलपत्र परेका उनीहरुलाई प्रवासी नेपाली समन्वय समिति मलेसियाका रामचन्द्र नेपालको सहयोगमा स्थानीय चर्चमा राखिएको थियो । दुई हप्तासम्म चर्चमा बसेका उनीहरु आफैले प्लेन टिकट काटेर नेपाल आएका हुन् । 
सामीका अनुसार अलपत्र परेकामध्य चार जनालाई मलेसियास्थित स्थानीय चर्चमा राखिएको छ । उनीहरुको पनि उद्धारको पहल भइरहेको सामीले जनाएको छ ।