चैत–२४, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले वर्ष दिनको अवधिमा दैबीप्रकोपमा परेका जिल्लाका २१९ घरपरिवारलाई राहत वितरण गरेको जनाएको छ । आफ्नो २७ औं जिल्लासभाको अवशरमा आइतबार रेडक्रसले ८४ घर आगलागी पिडित, ११८ घर बाढी पिडित, ७ घर चट्याङ् पिडित र १० घर हावाहुरी पिडितलाई प्रकोप उद्धार एबं राहत वितरण गरेको जनाएको छ । 
एक वर्षभित्र सञ्चालन गरिएका कार्यक्रमहरुको प्रगतीका बारेमा जानकारी दिँदै रेडक्रस सोसाइटीले आगामी आर्थिक वर्षभित्र सञ्चालन गरिने कार्यक्रमहरुको विषयमा जानकारी दिएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री भीमबहादुर शैंजूका अनुशार सन २०१६ सम्ममा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने उद्धेश्यकासाथ यूनिसेफको सहयोगमा लफ्याङ, नेर्पा र दोर्पाचिउरीडाँडाका विद्यालयहरुमा समता र दिगोपन सहितको खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमको सहयोगमा नेर्पा र लफयाङ गाबिसलाई क्रमशः छैटौं र सातौँ खुल्ला दिशामुक्त गाबिस घोषणा गरिएको मन्त्री शैंजूले जानकारी दिनुभयो । 
यस्तै, मृत्यु दरलाई घटाउनकालागि खाल्ले गाबिसमा सामुदायीक स्वास्थ्य तथा प्राथमिक उपचार परियोजना सञ्चालन भइरहेको, बाहुनीडाँडा र बडहरे गाबिसमा कोसी जलाधार तथा विपद जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन भइरहेको रेडक्रसले जानकारी दिएको छ । कार्यक्रममा रेडक्रसका कोषाध्यक्ष पदमबहादुर तामाङले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । 
रेडक्रस सोसइटी जिल्ला शाखाका सभापति कुमारसिं बस्नेतको सभापतित्व एबं प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राजनैतिक दल, सरकारी तथा गैर–सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।