चैत्र–२५, रामनवमीको अवसरमा पुर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको छ ।
रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीहरुको बाक्लो भीड लागेको हो ।
मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका लाखौं दर्शनार्थीहरुको उपस्थिति रहेको छ । किरात, वौद्ध र हिन्दुधर्मालम्बीहरुको त्रिवेणीस्थल मानिने हलेसीमा सडक बिस्तार भएसँगै दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो ।
उदयपुरको कटारी–घुर्मी तथा घुर्मी–दिक्तेल सडक खण्डमा पर्ने सुनकोशी र दुधकोशीमा बेलीब्रीच बनेपछि यस पल्ट हलेसी आउने दर्शनार्थीहरुको संख्या दोब्बर वृद्धि भएको निर्देशक राईको भनाइ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोशी तथा उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोशीमा बेलीब्रीज बनेपछि सिधै काठमाडौं, धरान, बिराटनगर, जनकपुर, पोखरालगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर आएका छन् ।
धार्मिक तथा साँस्कृतिकरुपले प्रसिद्ध मानिने तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । महादेवगुफा, धर्मद्धार, पापद्धार, बसाहागुफा, भैरबगुफा, दुंदेलोगुफालगायतका धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।
हलेसी महादेवको दर्शन गर्न र मेला भर्नेहरु बाहेक आफुलाई आवश्यक पर्ने सामग्रीहरु खरिद गर्नेहरुको पनि उत्तिकै भीड लागेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ । तराईसँग सिधा यातायात जोडिएकाले आवश्यक सामाग्री सस्तोमा पाइने भएपछि सामाग्री खरिद गर्ने उपभोक्ताहरुको पनि उत्तिकै भीड लागेको हो ।