खोटाङ असार–१३, खोटाङको स्थानीय तहहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने बिषयलाई प्राथमिकतामा राखेका छन् । जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरुले पारित गरेको बार्षिक नीति तथा कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेका हुन् ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ‘थ’ अन्तर्गत वैदेशिक रोजगारीको क्षेत्रलाई प्राथमिकता दिएको मेयर दिपनारायण रिजालले बताउनुभयो । रिजालका अनुसार वैदेशिक रोजगारीको सन्दर्भमा उक्त उपदफा ‘थ’ अन्तर्गत बुँदा नम्बर ४, ५, ६, ७ र ८ मा तोकिएका कार्यहरु सञ्चालन गर्ने दायित्व तथा जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरिए बमोजिम वैदेशिक रोजगारीको क्षेत्रलाई प्राथमिकतामा राखिएको हो ।
उक्त नगरपालिकाले युवा जनशक्तिलाई स्वदेशमै परिचालन गर्ने गरी नीति तथा कार्यक्रम वनाउन लागी परेको जनाएको छ । स्थानीय तहमा पर्याप्त रोजगारीको अवसर नभएसम्म अल्पकालिन रणनीतिको रुपमा वैदेशिक रोजगारीलाई उपयोग गर्दै सँधैभरि वैदेशिक रोजगारीमै निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्ने गरी नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउने जनाईएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमुलक बनाउने उदेश्यले वैदेशिक रोजगारीमा गई फर्किएर स्वरोजगार बन्ने प्रण गरेका ब्यक्तिहरु(रिटर्नी स्वयम सेवक) परिचालन गर्ने कार्यक्रम पारित गरेको छ । नगरपालिकाकाले यस बर्ष रिटर्नी स्वयम सेवक परिचालनका निम्ति साँढे पाँच लाख रुपैंयाँ बजेट बिनियोजन गरेको छ । रिर्टनी स्वयमसेवकहरुले वैदेशिक रोजगारीको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामीको प्राविधिक सहयोगमा काम गर्ने बताईएको छ ।
स्वयम सेवकहरुले आप्रवासी तथा सम्भावित आप्रवासी र तिनका परिवारलाई सुरक्षित र भरपर्दो बनाउने उदेश्यले सूचना तथा सन्देश दिने लगायतका कार्य गर्न छन् । बालसेवा समाज नेपाल नेर्पा र नवकिरण सेवा समाज दुर्छिमसँगको सहकार्यमा सामी परियोजनाले वैदेशिक रोजरागीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमुलक बनाउने उदेश्यले जिल्लामा बिभिन्न गतिबिधि गर्दे आएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जस्तै बार्षिक नीति तथा कार्यक्रम पारित भएको अन्य पालिकाले पनि सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रलाई प्राथमिकता दिएको सामी परियोजनाले उल्लेख गरेको छ । खोटाङमा दुई नगर र आठ गाउँपालिका रहेका छन् ।