बैशाख–२, खोटाङमा चट्याङबाट सल्किएको आगोले घर तथा घरमा भएका सामाग्री जल्दा लाखौंको क्षति भएको छ । दोर्पाचिउरीडाँडा–८ का खड्बहादुर राउतको तीन वटा घर तथा घरमा पालिएका चार वटा बाख्राखसी, १५ वटा कुखुरा, काठपात, अन्नपात, लत्ताकपडालगायत जल्दा लाखौंको क्षति भएको हो ।
आइतबार साँझ परेको चट्याङले राउतको फुसले छाएको तीन वटा घर तथा घरमा भएका पशुचौपाया जल्दा २० लाख बढिको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले अन्य घरमा सल्किनु नपाएको स्थानीयबासीले जनाएको छ । 
घर तथा घरमा भएका सम्पूर्ण सामाग्री जलेपछि राउत परिवार छिमेकीकामा शरण लिएर बसिरहेका छन् । 
त्यसैगरी, आइतबार साँझ परेको चट्याङमा परी लामिडाँडा गाविस–९ की रत्नमायाँ मगर गम्भिर घाइते भएकी छिन् । घरमा बसिरहेको अवस्थामा चट्याङ परेर घाइते बनेकी ६४ वर्षीया मगरको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको  प्रहरीले जनाएको छ ।