बैशाख–३, निर्माणकाक्रममा भाँचिएको ओखलढुंगा र उदयपुरको घुर्मीस्थित सुनकोसी नदीको पक्की पुलको विषयमा अध्ययन गर्न स्वतन्त्र छानबीन समिति गठन गरिएको छ । निर्माणकैक्रममा गत चैत्र–२४ गते भाँचिएको पुलका विषयमा अध्ययन गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यपक तेजराज थापाको संयोजकत्वमा स्वतन्त्र छानबीन समिति गठन गरिएको हो ।
छानबीन समितिका सदस्यमा प्राध्यपक गोकर्ण मोत्रा र डा. राजन सुवाल छन् ।  आवास तथा भौतिक योजना मन्त्रालय सिंहदरबारस्थित भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिको सभाकक्षमा बसेको बैठकमा मन्त्री स्तरिय छानबिन समिति गठन गरिएको जानकारी दिइएको खोटाङका सभाषद पिके राईले जानकारी दिनुभयो ।
तीन जना प्राध्यपक सम्मिलित स्वतन्त्र छानबिन समितिले पुल भाँचिएको विषयमा स्थलगत अध्ययन गरी हप्ता दिनभित्रमा आफ्नो प्रतिबेदन पेश गर्ने जनाइएको छ । अध्ययनका लागि छानबीन समिति बुधबार सुनकोसीको हर्कपुर आएको सभाषद राईले बताउनुभयो ।
जुनसुकै पक्षबाट पनि प्रभावित हुन नसक्ने गरी स्वतन्त्र छानबिन समिति गठन गरिएको राईको भनाइ छ । बैठकमा सभाषद रामहरि खतिवडा, बिशाल भट्टराई, पिके राई, यज्ञराज सुनुवार, हर्कबोल राई, सकुन्तला राजभण्डारी, आवास तथा भौतिक योजना सचिव तुलसी सितौला, सडक बिभागका महानिर्देशक देबेन्द्र कार्की, हुलास स्टील कम्पनीका दिवाकर गोल्छा, ठेकेदार कम्पनी वाइवा कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाको सहभागीता रहेको थियो ।
बैठकमा सभाषद पिकेले खोटाङ र ओखलढुंगाको सिमास्थित जयरामघाटमा निर्माणाधिन पक्की पुलको कामलाई समेत तत्काल पूरा गर्न हुलास स्टिलका प्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । निर्माणाधीन सुनकोसीको पुल गत चैत्र–२४ गते सोमबार राती भत्किएको थियो ।
हुलास स्टिलले ट्रस जडान गरिरहेको अवस्थामा भत्किएको पुल भत्किनुको स्पष्ट कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । निर्माणकाक्रममा भाँचिएको पुलको बिषयमा अध्ययन गर्नकालागि सडक बिभागका इन्जिनियर अर्जुन थापाको संयोजकत्वमा समेत छानबिन समिति गठन गरिएको थियो ।
वाइवा भैरब कन्ट्रक्सनका ठेकेदार कृष्ण लामाले १४ करोडमा ठेक्का लिएको पुल समयमा निर्माण नहुँदाको अशर ओखलढुंगा, सोलुखुम्बु र खोटाङको भौतिक, आर्थिक र सामाजिक बिकासमा समेत परिरहेको छ ।
वाइवा भैरब कन्ट्रक्सनले ५ वर्षभित्र पूरा गर्नेगरी २०५८ सालमा जिम्मा लिएको पुल निर्माणको काम १४ वर्ष लाग्दा समेत पूरा हुनसकेको छैन । गत मङ्सिरमा पनि सुनकोसीमै निर्माणाधिन अस्थायी बेलिब्रिज निमार्णकै चरणमा भाँचिएको थियो ।