बैशाख–३, खोटाङमा जिल्लामै पहिलो पटक जिल्ला ब्यापी खुल्ला महिला फुटबल प्रतियोगीता शुरु  भएको छ । सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा शुरु भएको प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा खेलकुद विकास समिति खार्मीले विजयी यात्रा शुरु गरेको छ । बाम्राङ– शंखुलाई ४–० गोल अन्तरले पछि पार्दै खेलकुद विकास समिति खार्मीले विजयी यात्रा शुरु गरेको हो ।
‘महिलाको सम्मान, लैंगिक असमानता विरुद्ध हाम्रो अभियान’ भन्ने नारासहित जिल्लामै पहिलो पटक जिल्ला ब्यापी महिला फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक खोटाङ स्पोर्टस क्लवले जनाएको छ । 
महिलालाई मात्र सहभागी गराएर आयोजना गरिएको जिल्ला ब्यापी महिला फुटबल प्रतियोगीतामा नौं समूहको सहभागिता रहेको क्लवका अध्यक्ष बिबेक राई ‘बिकी’ले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा आयोजना गरिएको प्रतियोगिता बैसाख–६ गतेसम्म सञ्चालन हुने राईको भनाइ छ । 
‘खोटाङ स्पोर्टस कप’ महिला फुटबल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने समुहले नगद ३३ हजार ३ सय ३३, दोश्रो स्थान प्राप्त गर्ने समुहले २२ हजार २ सय २२ र दुई वटा सेमीफाइनलिस्ट समुहले प्रति समुह ११ हजार १ सय ११ कासाथमा ट्रफी र प्रमाणपत्र हात पार्ने छन् । खेल अवधिका सर्वोत्कृष्ट खेलाडीलाई नगद ४ हजार ४ सय ४४, सर्वाधिक गोलकर्तालाई २ हजार २ सय २२, उत्कृष्ट गोल रक्षकलाई २ हजार २ सय २२, उत्कृष्ट डिफेन्डरलाई २ हजार २ सय २२, उत्कृष्ट मिड फिल्डरलाई २ हजार २ सय २२ र उत्कृष्ट फरवार्डलाई २ हजार २ सय २२ का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । 
प्रतियोगीता सञ्चालनका लागि हाल यूकेमा रहेका गजेन्द्र राईको संयोजकत्वमा सह–प्रायोजक स्वरुप ५० हजार र बाम्राङका नवराज खतिवडाबाट प्रायोजक स्वरुप ३० हजार आर्थिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ । राईबाट प्राप्त भएको सहयोग रकमबाट प्रथम र खतिवडाबाट प्राप्त भएको रकमबाट दोश्रो विजेता समुहलाई पुरस्कार दिइने अध्यक्ष राईले जानकारी दिनुभयो । 
सेमीफाइनलमा पुगेका एक समुहलाई दिइने पुरस्कार बाम्राङकै खगेन्द्र राई र मेखबहादुर राईले प्रायोजन गर्नुभएको छ, भने अर्को सेमीफाइनलिष्ट समुहलाई दिइने पुरस्कार होटल जन्मभुमी एयरपोर्ट मेनगेट काठ्माडौंले प्रायोजन गरेको राईले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता पुरस्कार सभाषद सरस्वति बजीमयले, उत्कृष्ट गोल रक्षक पुरस्कार आरआर क्याम्पसका राजकुमार राई र गिरेन राईले, डिफेन्डर पुरस्कार दिलकुमारी राई स्मृति प्रतिष्ठान निर्मलीडाँडाले, मिड फिल्डर पुरस्कार बाम्राङकी सोनु राई मल्लले र उत्कृष्ट फरवार्ड पुरस्कारको प्रायोजन दोर्पाचिउरीडाँडाका सिताराम राईले गर्नुभएको छ । 
निर्मलीडाँडाका रबिन राईले ट्रफी प्रयोजन गर्नुभएको क्लवले जनाएको छ । क्ल्वलाई एन्फाले चार थान फुटबल र एक थान नेट दिएको छ । व्यवसायीक खेलकुदको विकास तथा युवा विकासप्रति समर्पणको नारा बोकेर स्थापना भएको स्पोर्टस क्लवले हरेक वर्ष भलिबल, फुटबल, स्नूकर लगायतका प्रतियोगीता सञ्चालन गर्दै आएको छ ।