बैशाख–३, स्वीस सरकारको सहयोगमा खोटाङ जिल्लामा सञ्चालन हुन लागेको स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि कार्यक्रम (एसएएलजीपी) राजनीतिक दलहरुबीचको किचलोका कारण अबरोध आएको छ । स्वीस सरकारले स्थानीय निकायलाई उपेक्षा गर्दै सिधै स्थानीय विकास मन्त्रालयसँग संझौता गरी जिल्लामा कार्यक्रम सञ्चालन गर्न लागेको भन्दै त्यसलाई रद्द गरी स्थानीय मागको आधारमा कार्यक्रम सञ्चालन गर्नु पर्ने जिल्लास्थित राजनीतिक दलहरूले अडान कसेपछि कार्यक्रम अबरोध आएको हो । 
यसबारे बुधबार जिल्ला विकास समितिको कार्यालय खोटाङमा भएको सर्वपक्षीय सहित दातृ निकायको बैठक निष्कर्ष विहीन टुङ्गिएको छ । दातृ निकाय स्वीस सरकारले कार्यक्रमको उद्देश्य र कार्यान्वयनका लागि त्यसको संरचना बारे स्थानीय राजनीतिक दलहरू प्रष्ट गर्न खोटाङ आएका स्वीस टिम त्यत्तिकै फर्किएको छ ।
स्वीस सरकारले जिल्लाको विकासमा सदासयता देखाए पनि यो कार्यक्रममा कुनै एक दलको प्रभावमा परेर तिनै दलका नेता–कार्यकर्ताहरूसम्बद्ध गैरसरकारी संस्था छनौट गरिएको भन्दै त्यसलाई रद्द गर्नु पर्ने माग राखेका छन् । स्थानीय वडा नागरिक मञ्च, गाविस, इलाका, जिल्ला परिषद हुदै प्रक्रियामा छिर्नु पर्ने योजना सिंधै स्थानीय विकास मन्त्रालयका केही व्यक्तिलाई प्रभावमा पारेर स्वीस सरकारको स्वार्थमा सिंधै कार्यक्रम सञ्चालन गर्न लागिएकाले त्यसको प्रक्रियागत विरोधमा कार्यक्रम सञ्चालन गर्न नदिइएको नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो ।
यसबारेमा आपत्ति जनाउदै स्थानी राजनीतिक दलहरूले स्थानीय विकास अधिकारी मार्फत स्थानीय विकास मन्त्रालय र स्वीस विकास नियोग केन्द्रीय कार्यालय समक्ष ज्ञापन–पत्र समेत बुझाएका थिए । जिल्लास्थित नौं राजनीतिक दलले उक्त कार्यक्रम सञ्चालनका लागि स्थानीय गैरसरकारी संस्था छनौटमा आपत्ति जनाउदै पुनर्विचार गरिनु पर्ने अडान कसेका छन् । 
कार्यक्रम सञ्चालनको जिम्मा पाएको बालसेवा समाज नेपालका अध्यक्ष दीपनारायण रिजाल र परियोजनाका व्यवस्थापक विष्णुनाथ शर्मा बीच चैत्र–४ गते संझौता भएको थियो । स्थानीय समुदायमा आधिरित गैरसरकारी संस्थाहरूको सहयोगमा स्थानीय सरकारको सामाजिक जवाफदेहिता अभिबृद्धि गर्न स्वीस सरकार र नेपाल सरकारबीच संझौता भएको हो । यसका लागि करिब सात करोड रकम खर्च गर्ने योजना बनाएको थियो ।