बैशाख–५, खोटाङमा हावाहुरीले विद्यालयको छाना उडाउँदा दश लाख बढिको क्षति भएको छ । खार्मी–५ स्थित जालपा निमावि बाँझोबारीको विद्यालय भवनको छाना उडाउँदा दश लाख बढिको क्षति भएको हो ।
शुक्रबार बिहान चलेको हावाहुरीले एल आकारको चार कोठे, दुई कोठा भएको दुई तले विद्यालय भवनको छाना उडाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार विद्यालय समय भन्दा केही समय अगाडि चलेको हावाहुरीले छाना उडाएकाले मानवीय क्षति भने भएको छैन ।
विद्यालयको छाना उडाएपछि कक्षा–८ सम्म पढाइ हुने उक्त विद्यालयका दुई सय १७ जना विद्यार्थी विचल्ली भएका छन् । शैक्षिकसत्र शुरु भएसँगै हावाहुरीले विद्यालयको छाना उडाएपछि विद्यार्थीहरु विचल्ली भएको अध्यक्ष राईको भनाइ छ । उहाँले भन्नुभयो,–‘नयाँ शैक्षिकसत्र शुरु भएसँगै धमाधम पढाइ हुने अवस्थामा विपत् आइप¥यो ! विद्यालयको अन्तरिक श्रोत पनि छैन, खै कसरी पढाइ सञ्चालन गर्नु हो ?’ उहाँले थप्नुभयो,–‘श्रमदान पनि एक दिन पो जुट्छ, एक दिनको श्रमदानले केही हुनेवाला छैन, यस्तो अवस्थामा राज्यले पनि हेरिछाड्दैन होला !’
विद्यालय श्रोतका अनुसार उक्त विद्यालयको छाना २०५१ साल असार–३० आएको हावाहुरीले पनि उडाएको थियो । उक्त विद्यालय डाँडामा पर्ने भएकाले पटक–पटक हावाहुरीले छाना उडाउने गरेको स्थानीयको भनाइ छ ।