बैशाख–५, मादक पदार्थ सेवन गरेर हिडेका एक कामदारको भीरबाट लडेर ज्यान गएको छ । खोटाङ जिल्लाको राजापानी–५ स्थित ओढारे भीरबाट लडेर उदयपुर त्रियुगा नगरपालिका–१ स्थायी ठेगाना भएका ३० वर्षीय बिशाल विश्वकर्माको ज्यान गएको हो ।
सदरमुकाम दिक्तेलमा घर निर्माणमा ज्यामी काम गर्दै आएका बिश्वकर्माको बिहिबार घर जानेक्रममा साप्सु खोलाको किनारमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेको अवस्थामा भीरबाट लडेका विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक गोबिन्दकुमार साहले बताउनुभयो ।
साहका अनुशार खोलापारी गाईबाख्रा गोठालो गरिरहेका केटाकेटीले देखेर खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पठाइएको छ । मृतकका परिवार आइनपुगेका कारण शवलाई घटनास्थलबाट उठाउन नसकिएको प्रहरीले जनाएको छ ।
मृतकको साथमा भेटिएको नागरिकताको आधारमा विश्वकर्माको पहिचान भएको प्रहरीले जनाएको छ ।