बैशाख–१०, खानेपानीको मुहान सुक्दै गएपछि खोटाङको विजयखर्कका स्थानीयबासी अस्थायीरुपमा पानीको मुहान खोज्दै बसाई सर्न थालेका छन् । वडा नम्बर–५, ६ र ९ बाहेक अन्य वडाका स्थानीयबासी मुहान खोज्दै अस्थायीरुपमा बसाई सर्न थालेका हुन् ।
विगत वर्षहरुमा कहिलै नसुक्ने पानीको मुहान सुकेसँगै आफूहरु ककाकुल अवस्थामा पुगेपछि पानीको मुहान नजिक अस्थायीरुपमा बसाई सर्न बाध्य भएको वडा नम्बर–२ की अभिमायाँ कटवालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘बैकल्पिक रुपमा ल्याइएको पानी समेत पालो कुरेर भर्नुपर्ने र त्यो पनि नपाइने भएकाले आफूहरु अस्थायी रुपमा पानीको मुहान भए ठाउँमा बसाई सरेका हौं ।’ उहाँले थप्नुभयो,–‘आफूहरु गएको ठाउँमा समेत मुहान सुक्न थालेपछि झनै समस्यामा परेका छौं ।’  
गत कात्तिक–मंसिरदेखि नै नजिकमा रहेकाका धारापाधेँराका मुहान सुकेपछि विजयखर्क–७ का मात्रै ४० घर परिवार अस्थायीरुपमा दिखुवा खोला नजिक बसाई सरेका छन् । उनीहरुको स्थायी बसोबास वडा नम्बर–७ मा भएपनि बेसी क्षेत्रमा पनि खेतबारी भएकाले उतै बसाई सरेका हुन् । 
स्थानीय राजन ढकालका अनुसार माथिल्लो क्षेत्रमा बसोबास गर्ने घरपरिवारको बेसी क्षेत्रमा पनि खेतबारी भएकाले उतै अस्थायी रुपमा बसाई सरेका हुन् । ढकाल भन्छन्,–‘हाम्रो त बेसी क्षेत्रमा खेतबारी भएकाले अस्थायी रुपमा भएपनि पानी भएको ठाउँमा झरेर बसेका छौं, गाउँका अन्य धेरैको बिचल्ली नै भएको छ ।’
स्थानीय शिक्षक गोबिन्द कटवालका अनुसार पानीको मुहान धमाधम सुकेपछि बैकल्पिक रुपमा ल्याइएको पानी पालो कुरेर भर्ने गरेका छन् । कटवाल भन्छन्,–‘बेलुका ११ बजेसम्म र बिहान तीन बजेदेखि पालो मिलाइएको छ, तर पानी नपुगेपछि केटाकेटीहरु त्यसै फर्कने गरेका छन् ।’ कटवालका अनुसार वडा नम्बर–२ का लागि बैकल्पिक रुपमा लगिएको पानी भर्न बेलुका ११ र बिहान १६ घरले तीन–तीन गाग्रीका दरले भर्ने पालो बनाइएको छ । कतिपय समयमा पानी नपुगेपछि सुख्खा खाना खाएको स्थानीय फडिन्द्र खनालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘हामी त जे खाएपनि पचाउँछौं, केटाकेटी, बुढाबुढी र वस्तुभाउको कन्त बिजोग भएको छ ।’
स्थानीयका अनुसार वडा नम्बर–७ का ४०, ३ का १५, २ का ६, ४ का १० घरपरिवार अस्थायीरुपमा बसाइ सरेका छन् । शिक्षक गोबिन्द भन्छन्–‘यत्तिका परिवार समस्यामा पर्दा समेत कसैको ध्यान जान नसकेको प्रति दुखिद् भएका छौं,  यसप्रति राज्यको विशेष ध्यान जान आवश्यक छ ।’