बैशाख–११, लामो समयको खडेरीले गर्दा यस वर्ष खोटाङमा अलैंची उत्पादनमा गिरावट आउने भएको छ । 
हालसम्म पनि पानी नपरेपछि यस वर्ष करिब ४५ प्रतिशतले अलैंची उत्पादनमा कमी आउने कृषकहरुको अनुमान रहेको छ । यस वर्षको हिउँदभर जिल्लामा खेतिपातिको लागि आवश्यक वर्षा नभएपछि किसानहरु चिन्तित बनेका छन् । 
वर्षा नभएपछि अधिकांश ठाँउका अलैंची बगानहरु सुक्न थालेको जिल्ला कृषि विकास कार्यालय खोटाङले जनाएको छ । अन्य बालीहरुलाई समेत खडेरीले असर गरे पनि बिशेषगरी अलैंचीलाई प्रभाव पारेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक रामनाथ साहले बताउनुभयो । 
यस वर्ष ६० करोडभन्दा बढीको अलैंची जिल्लाबाट निकासी भएको कृषि विकास कार्यालयको तथ्याङकमा उल्लेख छ । सबैभन्दा बढी अलैंची उत्पादन हुने गाविस फेदीमा यो वर्ष ४५ प्रतिशतभन्दा बढीले गिरावट आउने फेदीका कृषक ज्ञानकुमार राईले बताउनुभयो । उहाँ भन्नुहुन्छ,–‘अझ केही समय पानी नपरे ६० प्रतिशतभन्दा बढीले अलैंची उत्पादनमा ह्रास आउनेछ ।’
अलैंचीलाई पानीको अति आवश्यक पर्ने समयमा पानीको मुहान नै सुकी सुख्खा भएकोले उत्पादनमा कमी आउने भएको कृषि विकास कार्यालयले जनाएको छ । कृषकहरुका अनुसार हाल अलैंचीको फूल फुल्ने र गोडमेल गर्ने समय मानिन्छ । 
यसैबीच, चिराईतो खेति गर्ने किसानहरुलाई समेत खडेरीले मार पार्ने भएको छ । खडेरीले उत्पादन नदिए पछि यो बर्ष पहिलो पटक चिराईतो खेति शुरु गर्ने किसानहरु हतोत्साही हुन सक्ने जिल्लाका अनुभबी कृषकहरुको अनुमान छ । जिल्लामा चिराईतो खेतिको राम्रो सम्भावना भएको कृषिविज्ञहरु बताँउछन् ।