बैशाख–१४, खोटाङको लिकुवापोखरीमा खानेपानी योजना सञ्चालन भएपछि स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । जिडब्लुएस र स्थानीय उपभोक्ताको सक्रियतामा करिब डेढ करोडको आर्थिक लागतमा योजना सम्पन्न भएपछि स्थानीय एक सय ७१ घर उपभोक्ता लाभान्वित भएका हुन् । 
जिडब्लुएसको ८८ लाख १५ हजार र स्थानीयबासीको ४० लाख ५७ हजारको लागतमा योजना सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । एक सय ७१ वटा घरधुरी रहेको गाउँमा एक सय ७४ वटा धारा निर्माणका लागि कुल एक करोड २८ लाख ७२ हजार रुपैयाँ खर्च भएको एरिया वेलफेर सेन्टरका एडब्लुओ श्यामकुमार राईले जानकारी दिनुभयो । 
योजना सम्पन्न भएपछि एक हजार एक सय ४३ जना मानिस तथा वस्तुभाउले उपभोग गरिरहेका छन् । उक्त स्थानमा पानीको ठूलो समस्या भएपछि आफूहरुले सहयोग गरेको राईको भनाइ छ ।